| सोमवार, कार्तिक २३, २०८३

तरकारीमा विषादी कम प्रयोग गर

गोरखाको गण्डकी गाउँपालिकामा व्यवसायिक तरकारी खेती सुरु गरिएको २०५० को दसकबाट हो । छिमेकी धादिङतिर व्यवसायिक तरकारी खेती गर्न सुरु गरेको देखासिकीमा गोरखाको गण्डकी गाउँपालिकामा पनि सुरु गरिएको हो ।
तरकारी हरेक दिन भान्साका लागि अपरिहार्य बस्तु हो । त्यसैले यसको बजारका लागि समस्या हुने सवालै भएन । व्यापारीहरु तरकारी संकलन केन्द्रमै आएर खरिद गरेर लैजाने हुँदा किसानहरुलाई बजारको सजिलो भयो ।
देश विकासका लागि उत्पादन बढाउनु पर्छ र आयात घटाउनु पर्छ भनेर वौद्धिकहरुले बारम्बार भन्दै आएका छन् । राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु पनि बारम्बार यही रट्छन् । तरकारीमा आत्मनिर्भर बनाउने भन्ने कार्यक्रम पनि धेरै पालिकाका छन् । तर गरिपु¥याउन सबैलाई हम्मेहम्मे छ ।
यसै क्रममा गण्डकी गाउँपालिका भने व्यवसायिक तरकारी उत्पादनमा अग्रस्थानमा छ । उनीहरु अहिले मात्र होइन, झण्डै ३० बर्षदेखि व्यवसायिक तरकारी खेतीमा लागेका हुन् । यसैबाट उनीहरुले मनग्य आम्दानी गरिरहेका छन् ।
पालिकाहरुले अर्को नारा पनि बनाउने गर्छन्, ‘अर्गानिक तरकारी उत्पादनमा जोड ।’ तर खेतबारीमा दस नङ्ग्रा खियाउने किसानलाई यस्ता गन्थनमा भुल्न फुर्सद हुन्न । उनीहरु आवश्यक रासयनिक मल, आवश्यक विषादीको प्रयोग गरी धेरैभन्दा धेरै उत्पादनमा जोडतोडले लागिरहेका हुन्छन् । यसले किसान स्वयं र उपभोक्तामा कस्तो दुश्प्रभाव पार्छ भन्नेतिर पनि उनीहरुको ध्यान हुदैन ।
त्यसकै नतिजा हुनपनि सक्छ कि, गण्डकी गाउँपालिकाका कतिपय तरकारी किसानहरुमा क्यान्सर र मृगौला फेलको समस्या देखा परेको छ । कैयौँ महिलाहरुको पाठेघर खस्ने समस्या पनि छ ।
पालिकाको कृषि शाखाले बेलाबेला उनीहरुका लागि तालिम, अभिमुखीकरण गर्ने गर्दछ । तर तालिम, अभिमुखीकरणमा सिकेका कुरा, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भने जस्तै भइरहेको छ ।
अब किसान र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी विषादी र रासयनिक मल उत्पादनमा न्यूनिकरण गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्