
गोरखकाली र मनकामनाको भेटी व्यवस्थित गर
सरकारले केही बर्षअघि भक्तजनको अधिक घुइँचो लाग्ने मठमन्दिरहरुको भेटी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । पशुपतिनाथ, मुक्तिनाथ, मनकामना, गोरखकालीलगायतका अत्याधिक भक्तजनहरु आउने मन्दिरहरुको भेटी व्यवस्थित गर्ने निर्णय गरेको हो ।
तीमध्य केही मठमन्दिरका निर्णय कार्यान्वयन भए, केहीमा अहिलेसम्म हुन सकेको छैन । व्यवस्थित गर्ने पहल पनि सुरु भएको थिएन । तर गोरखाको स्थानीय प्रशासनले गोरखकाली मन्दिरमा संकलन हुने भेटी व्यस्थित गर्ने पहल सुरु गरेको हो । यद्यपि गोरखकाली मन्दिरमा भक्तजनको उतिसाह्रै धेरै उपस्थिति हुदैन, जति मनकामना मन्दिरमा हुन्छ ।
मनकामना मन्दिर धेरै भक्तजन आउने नेपालकै दोस्रो तेस्रो मन्दिरमा पर्दछ । सबैभन्दा धेरै भक्तजन पशुपतिनाथमा दर्शन र पूजाआजा गर्न आउँछन् । लुम्बिनी त्यसपछिको धेरै भक्तजन आउनेमध्य पर्दछ । त्यसपछिको धेरै भक्तजन आउनेमा मनकामना मन्दिर पर्दछ । त्यसैले यहाँ भेटीघाटी पनि धेरै नै उठ्छ । तर त्यहाँ संकलन भएको भेटी त्यहाँका मुख्य पुजारीले भोगचलन र परिचालन गर्ने गर्दछन् ।
यो विषय धेरै पहिलेदेखि उठेको विषय हो । दैनिक चार, पाँच हजारको संख्यामा यहाँ भक्तजन आउँछन् । उनीहरुबाट पाँच वा दस रुपैयाँका दरले भेटी चढे पनि दैनिक ५० हजार भन्दा बढि भेटी संकलन हुन्छ । यो हिसाबले महिना र बर्षमा उठ्ने भेटीको परिमाण उल्लेखनीय हुन्छ । यसको सही व्यवस्थापन हुनु जरुरी छ । भेटी मात्र होइन, यहाँ बली पनि उल्लेख्य चढ्ने गर्छ । बलीको टाउको पनि पुजारीले स्वविवेकले प्रयोग गर्छन् । त्यसलाई पनि व्यस्थित गर्ने हो भने मन्दिरको ढुकुटीमा अर्को आम्दानीको स्रोत बन्छ । यसैबाट मन्दिर व्यवस्थापनमा सहज हुन्छ ।
यो धरातलीय यथार्थलाई व्यवहारमा उतार्न अहिलेसम्म कसैले पहल गरेन । अब यसलाई व्यवहारमा उतार्न ढिला गर्नु हुदैन ।




