
स्थानीय जातको स्याउ खेतीको प्रवद्र्धन गर
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेका केही गाउँहरु स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । चुमनुब्री २, ३, ४, ५ र ६ का गाउँठाउँ स्याउका लागि अत्यन्त उपयुक्त छ । धार्चेको पनि वडा नं. १, २, ३ र ५ का केही ठाउँहरुमा पनि यसअघिदेखि नै स्थानीय जातको स्याउ खेती हुन्छ ।
चुमनुब्री २, ३, ४ र धार्चेको वडा नं. ३ र ५ का केही ठाउँमा भने अहिले उन्नत जातका स्याउ खेतीको अभ्यास गरिएको छ । चुमनुब्री २ र ५ मा अत्यन्त्र राम्रो उत्पादन भएको पनि छ । वडा नं. २ को ल्होमा स्थानीय व्यवसायी छिरिङ धार्केले ५ हजार बोट इटलेली स्याउ खेती गरेका छन् । गोल्डेन, रेड डेलिसियस तथा अन्य विभिन्न जातका स्याउहरु त्यहाँ लगाइएको छ । अघिल्लो बर्ष त्यहाँ करिब १० हजार किलो स्याउ फल्यो । ती सबै स्याउ स्थानीय बजारमा बेचियो । नबिकेका स्याउको सुकुटी बनाइयो, चिप्स बनाइयो, वाइन बनाइयो ।
त्यस्तै वडा नं. ४ नाम्रुङका व्यवसायी लाक्पाडुण्डुप लामाले १२ हजार बोट स्याउ लगाएर व्यवसाय गरेका छन् । इटलीबाट आयात गरिएका रेड तथा गोल्डेन डेलिसियस, फुजी, गाला आदि जातका स्याउहरु त्यहाँ छन् । अघिल्लो बर्ष ३० हजार किलो उत्पादन भएपनि बजार नपाएर ती सबै स्याउ थन्किए । यद्यपि कतिपय त्यसलाई वाइन बनाउने, चाना र चिप्स बनाउने, सुकुटी बनाउने आदि गरेर समय उपयोग गरियो ।
बाँकी ठाउँमा पनि स्याउ हुन्छन्, स्थानीय जातको । ती स्याउ पनि गुणस्तरीय नै हुन्छन् । स्थानीय जातका स्याउ झन् सोही हावापानीमा उम्रे, हुर्केको हुँदा यो झन वातावरण अनुकूलित हुन्छन् । ती स्याउलाई पनि प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउँदा उत्तम हुन्छ ।




