
जुझारु युवाहरुको ‘गोरखा फर्क’ अभियान जीवन्त रहोस्
जुनकुनै कार्यक्रमको सुरुवात भव्य, सभ्य हुन्छ । तामझामले आरम्भ पनि गरिन्छ । तर समय वितेसंगै सो अभियान तुहिदैजान्छ । अन्ततः सुन्यमा अन्त हुन्छ ।
अधिकांश सुरुवातीहरुको बिडम्बना यही हो, तर सबैमा यो रीत लागु नहुसक्छ । यथेष्ट सुझबुझका साथ सुरु गरिएको अभियान, परिपक्क रणनीति, कार्यनीति बनाएर सुरु गरिएका योजना, कार्यक्रम तथा अभियान भने कालान्तरसम्म रहिरहन्छ ।
अहिले गोरखा सदरमुकामका केही जुझारु युवाहरुले ‘गोरखा फर्क’ अभियान सञ्चालन गरेका छन् । अभियानको प्रभावस्वरुप यसबर्षको गाईजात्रा पर्व भव्य र सभ्य बन्यो । अहिले गाउँबाट सहर, सहरबाट विदेश हानिने रीत बस्यो, जसले गर्दा गाउँठाउँमा मान्छे भेटिदैनन् । बस्ती खण्डहर बन्दैछन् । सहरका पनि कैयौं सटरहरु खालि छन् ।
यस्तो कहालीलाग्दो अबस्थालाई मध्यनजर गरी डाक्टर राजुबाबु श्रेष्ठको नेतृत्वमा गोरखा फर्क अभियान सञ्चालन भएको हो । अभियान अन्तर्गत काठमाडौँमा बस्दै आएका करिब ६० जना युवाहरु गाईजात्रा अवलोकन गर्न गोरखा फर्किए । उनीहरुले साथमा आफन्त नयाँ पुस्तालाई पनि लिएर आए, जसले गर्दा उनीहरुप्रति आफ्नो पैत्रिक थलोको माया, ममता, श्रद्धा अभिवृद्धि हुन्छ भन्ने विश्वास छ ।
गोरखा फर्क अभियानमा आवद्ध भएका युवाहरुले गोरखा बजारको चौतर्फी विकासका लागि नजर पु¥याईरहेका छन् । उनीहरु गोरखा नगरपालिकासंग समन्वय गरी सदरमुकाम बजारको विकासका लागि मरिमेटिरहेका छन् । गोरखा बजार औद्योगिक विकासका लाग उपयुक्त नहुनसक्छ । धेरै गाउँबस्तीको व्यापारिक केन्द्र नबन्न सक्छ, तर यहाँको ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक समिश्रणले यहाँको पर्यटन विकास हुन सकिन्छ ।
पर्यटन विकासका लागि पूर्वाधार पहिलो सर्त भएकाले यसमा गोरखा नगरपालिकाले चासो दिन सके यहाँको पर्यटन विकास धेरै टाढा छैन ।




