
चोरीको घटना समयमै नियन्त्रण गर
बेला कुबेला विभिन्न गाउँठाउँमा अनायासै चोरीका घटना बढ्न थाल्छन् । दुईबर्ष अघि बारपाक सुलिकोट ४ सौरपानीमा यस्तै घटना भयो । प्रहरी प्रशासनले कडा निगरानी गर्न थालेपछि श्रृङ्खलावद्ध चोरीका घटना न्यूनिकरण भयो ।
अहिले फेरि गण्डकी गाउँपालिका ७ ज्यामिरघाट आसपास चोरीका घटना बढिरहेको छ । त्यहाँ एकै ठाउँमा एक महिनाको अवधिमा पाँचवटा चोरीका घटना भएको छ । घटना बढेपछि स्थानीय युवाहरुले दैनिक रात्री गस्ती गरिरहेका छन् ।
त्यसैगरी जिल्लाबाट गएको तथा आसपासका चौकीहरुबाट जनशक्ति थप गरी सो क्षेत्रमा प्रहरीले पनि सघन गस्ती गरिरहेको छ । सादा पोशाकका प्रहरीले पनि गस्ती गर्ने गरेको छ । त्यस्तै गोरखा नगरपालिका १३ रामशाहटोलमा पनि चोरीका घटना बढेको छ ।
तीन किलो बजार, रामशाहटोल तथा अरु टोलहरुमा पनि श्रृङ्खलाबद्ध चोरीका घटना घटेको छ । अत्याधिक घटना हुन थालेपछि वडाअध्यक्षले सार्वजनिक सूचना जारी गरी सजग रहन अनुरोध गरेका थिए । बेलाकुबेला यस्ता घटना ठाउँठाउँमा भइरहन्छन् ।
त्यसलाई न्यूनिकरण गर्न स्थानीय सरकार, स्थानीय प्रशासन, प्रहरी, लव्ध प्रतिष्ठित ब्यक्तिहरु, समाजसेवीहरु पनि लाग्नु पर्छ ।
बिनारोकतोक काम गर्ने अवसर पाए भने नेपालका प्रहरी अपराध अनुसन्धानमा निकै सशक्त मानिन्छ । तर विभिन्न शक्तिकेन्द्रबाट डर, धाकधम्की, प्रलोभनका अल्झनहरुले समस्या बनाउने सम्भावना पनि त्यत्तिकै चुनौतिपूर्ण छ ।
अहिले भएका घटना पनि प्रहरीको काबुभन्दा बाहिर छैन । प्रहरीले केही समय अनुसन्धान ग¥यो भने चोरीका क्रियाकलापमा संलग्नलाई पक्राउ गर्नेछ । यदि यो घटना नियन्त्रण भएन भने अन्य गाउँबस्तीमा पनि बढ्नेछ । त्यसैले यस घटनालाई थप जनशक्ति प्रयोग गरी समयमै नियन्त्रण गरौँ ।




