| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी गाउँपालिकाद्वारा बिपद्मा परेकाको अभिभावकत्व बहन

भारतको राजनीतिक परिवर्तनले नेपालको राजनीतिमा प्रभाव पर्छ भनिन्छ । राजनीतिक मात्र होइन, छिमेकीको अन्य सामाजिक, सांस्कृतिक, आर्थिक गतिविधिको प्रभाव नजिकको अर्को मित्रशक्तिमा पनि स्वतः पर्नु स्वभाविक हो । नजिकको मित्रशक्तिको आरोह अवरोहले अर्को मित्रशक्तिमा प्रभाव, दुश्प्रभाव पर्नु स्वभाविकै हो ।

गोरखा सदरमुकामको छिमेकी तनहुँको आँबुखैरेनी बजारमा हुने विभिन्न गतिविधिको प्रभाव पनि गोरखा बजारमा अवश्यै पर्दछ । समसामयिक सन्दर्भको कुरा गर्नुपर्दा अहिले आँबुखैरेनीमा डेँगु फैलिएको छ । यहाँका धेरैजना डेंगु संक्रमणबाट संक्रमित छन् । यसबाट आँबुखैरेनीबासी स्वयं धेरै सावधान हुनु जरुरी छ । गोरखा बजारसम्म पनि यसको प्रभाव पर्ने हुँदा सावधानी अपनाउनु अति जरुरी छ ।

संक्रमितको संख्या बढ्दै गएपछि आँबुखैरेनी गाउँपालिकाले सो रोगको बिरामीलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अस्पतालले लक्षित वर्गलाई डेंगु संक्रमणबाट बच्न निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको हो ।
जसरी कोभिड महामारीका बेला सरकारले निशुल्क आइसोलेशन, क्वारेण्टाइनमा राख्ने, उपचार गर्ने गरेर अभिभावकत्व बहन गरेको थियो ।

साथै बिरामीहरुलाई पोषण खुवाएर प्रतिरोधात्मक शक्ति अभिवृद्धि गराउने काम गरेको थियो । साथै कोभिडबाट बचेकालाई पुनस्थापित गर्न विभिन्न राहतका प्याकेजहरु ल्याएको थियो । अहिले आँबुखैरेनीमा फैलिएको डेँगु निदानका लागि स्थानीय सरकारले लिएको अभिभावकत्वलाई पनि त्यस्तै सकारात्मक रुपमा लिन सकिन्छ ।

विपद्मा परेकालाई बचाउने, राहत दिने, पुनस्थापित गराउने, प्रोत्साहित गर्ने, मनोबल बढाउने, पूर्व सावधानीका लागि सचेतना अभियान सञ्चालन गराउने खालका कार्यक्रम गर्ने सरकारको दायित्व हो । आँबुखैरेनीको यो अभियान पनि सकारात्मक छ । गोरखाका स्थानीय सरकारले पनि यसबाट पाठ सिकेर आफ्ना पालिकाबासीलाई सचेत गराउने तथा संक्रमित भए बचाउने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्