
धार्मिक पर्यटनका लागि पूर्वाधारको खाँचो
शारीरिक रुपमा दुख गरेर पूजाआजा गरेपछि धर्म कमाइन्छ भन्ने पुरानो मान्यता छ । सयमिटर परदेखि सुतेर घिस्रिँदै देवता वा धर्मगुरुको दर्शन गर्न गएको यसकै उदाहरण हो । सुखसयल गरेर धर्म गर्दा फल पाइँदैन, त्यसैले भौतिक रुपमा सास्ती लिँदै धर्म गरे फल पाइन्छ भन्ने पनि पुरानो मान्यता छ । जाडोमा अर्धनग्न भएर र गर्मीमा पञ्चाग्नी ताप्दै ध्यान, तप गर्ने पुरानो परम्परा यसकै उदाहरण हुन् ।
तर आजभोलि यस्ता मान्यतामा विश्वास घट्दै गएको छ । आधुनिक प्रविधिको विकाससंगै यातायातका साधनको प्रयोग गरेर मन्दिर पुग्ने, पाएसम्मको आधुनिक प्रविधिको प्रयोग गरेर पूजाआजा, जप, तप, ध्यान गर्ने परम्परा अहिले आइसकेको छ । त्यसैले हिँडेर पुग्नु पर्ने मन्दिरहरुमा भक्तजनको संख्या निश्चित हुन्छन् भने सवारी साधनको प्रयोग गर्दै सजिलोसंग पुगिने मन्दिरमा भक्तजनको घुइँचो लागेको देखिन्छ ।
यसको ज्वलन्त उदाहरण गोरखाकै मनकामना मन्दिर हो । नेपालमा पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीपछि सबैभन्दा धेरै भक्तजनको घुइँचो लाग्ने मन्दिर मनकामना हो । यहाँ बर्षमा १० लाखभन्दा धेरै धार्मिक पर्यटक आउँछन् । मनकामना माताप्रतिको अगाध आस्थाले आएका हुन् भन्नेमा त दोमत भएन ।
सवारी साधनको पहुँचका कारण पनि भक्तजन धेरै आएका हुन् भन्न अब तथ्यले देखाउँछ । गत असार ३१ गतेदेखि मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार बन्द छ । मर्मत सम्भारका लागि भन्दै केवलकार बन्द हुँदा यहाँ आउने पर्यटकको संख्या ६० प्रतिशतले गिरावट आएको छ ।
अहिले साउन(बर्खा) महिना भएकाले पनि धार्मिक पर्यटक घटेको हुनसक्छ, तर मन्दिरसम्म पुग्ने सहज माध्यम नभएकाले भक्तजनको संख्या ६० प्रतिशतले गिरावट आएको हो । तसर्थ धार्मिक पर्यटक वृद्धि गर्न पनि पैदल हिँडेर होइन, सवारी साधन लगायतका पूर्वाधारको विकास गर्नुपर्छ ।




