
वडा कार्यालयको विवाद चाँडोभन्दा चाँडो अन्त्य गर
स्थानीय तह गठन भएको र जनप्रतिनिधि पाएको सात बर्ष बितिसकेको छ । २०७४ सालको निर्वाचनपछि देशका ७५३ वटा पालिका र तिनमाताहतका सबै वडाहरुले जनप्रतिनिधि पाएका हुन् । सात बर्ष बितिसक्दा अहिले गोरखाका ११ पालिकामध्य गण्डकी, धार्चे र चुमनुब्रीबाहेक आठवटा पालिकाको आफ्नै कार्यालय भवन छन् । भलै कुनै कच्ची संरचनामा होलान्, कुनै पक्की । वडा कार्यालयहरु पनि प्राय निर्माण भइसकेका छन् । कुनै कुनैको पनि वडा कार्यालय कहाँ राख्ने भन्ने पनि ठेगान भइसकेको छैन ।
त्यस्तैमध्यको एक हो, बारपाक सुलिकोट गाउँपालिका ६ को वडा कार्यालय । २०७४ सालदेखि दुवै कार्यकाल वडाअध्यक्ष बनेका बाबुलाल गुरुङले पाल्खुको एक घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएका छन् । साबिकको ताकु गाबिस भवन रहेको कोटथोकमा वडाको नाममा एक रोपनी १० आना जग्गा छ । सो जग्गा अहिले माईकोट माविको कम्पान्उड भित्र पर्छ । विद्यालयको कम्पाउण्डभित्र पर्ने भएकाले उक्त जग्गा पनि घेराबार गरिएको छ । आफ्नो नाममा रहेको जग्गाको उपयोग नगरी वडा कार्यालय भने पालिकाको निर्णयअनुसार पाल्खुको एक घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।
भूगोलको हिसाबले मोहोरिया र डाँडागाउँको बीचमा वडा कार्यालय हुनुपर्ने जानकारको सुझाव छ । जनघनत्व, बैंकिङ सुविधा, यातायात सुविधालाई मध्यनजर गर्ने हो भनी पाल्खु नै उपयुक्त हुनेछ । साविकको ९ वटा वडामध्य एउटा वडाबाहेक अरु बाँकी सबै साबिकका वडाबासीले भने पाल्खुमा नै राख्नु पर्ने दाबी गरेका छन् । वडा कार्यालयको भवन बनाउन पाल्खुमा २४ आना जग्गा व्यवस्था गरिसकेको समेत वडाध्यक्ष गुरुङको दावी छ ।
आफ्नै जग्गा उपयोग गरी भवन निर्माण गर्नुपर्ने भन्दै एकाथरीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । सर्वोच्च अदालतले वडा कार्यालयलाई पत्रचार गर्दै ताकुकोटमै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । तर उक्त निर्देशन वडाले अटेर गरेपछि पुनः अदालतमा मानहानीको मुद्दा पनि परेको छ । प्राय सबै वडा कार्यालयहरु निर्माण भइसके पनि बारपाक सुलीकोट ६ को कार्यालय कहाँ रहने भन्ने सम्म ठेगान नहुनु दुखद छ । यो समस्या चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ ।




