| शनिबार, जेष्ठ ४, २०८२

बारपाक–लाप्राक सडक सँधै समस्याग्रस्त

दुर्गम धार्चे सडक सञ्जालले जोडिएको धेरै समय भएको छैन । प्राय सबै वडाका सबै गाउँबस्तीमा सडक सञ्जाल पुगेपछि खुशीको सीमा थिएन । तर यो खुशी हिउँदका दिनमा मात्र अस्तित्वमा रहने, बर्खा लागेपछि नामेट हुने गरेको छ ।

धार्चे गाउँपालिका प्रवेश गर्ने सडकका दुई विकल्प छन् : एउटा हो सोतीबाट, अर्को हो बारपाकबाट । सोतीबाट जोड्ने सडक नेपाली सेनाले निर्माण गरेको हो भने बारपाकबाट जोड्ने सडक पूर्वाधार कार्यालय गोरखाले निर्माण व्यवसायी मार्फत निर्माण गरेको हो ।

यो बर्खाका बेला यी दुवै सडक अवरुद्ध छन् । सोतीबाट माछाखोला जोड्ने सडक खानीवेशी, नौली झरनामा अवरुद्ध छ भने बारपाकबाट जाने सडक मम्चेडाँडामा अवरुद्ध छ । त्यसैले धार्चेका र त्यो भन्दा माथि चुमनुब्रीका बासिन्दा अहिले माथिबाट ढुंगा खस्छ कि, पहिरो खस्छ कि भन्ने त्रासका बीच पैदल यात्रा गर्न बाध्य छन् ।

धेरै ठूलो पहिरोका कारण बारपाक–लाप्राक सडक एक महिनादेखि अवरुद्ध छ । सडक अवरुद्ध बनेपछि स्थानीयले आवातजावतमा पनि निकै समस्या खेप्दै आएका छन् । सडकको विकल्पमा पुरानो गोरेटो बाटो प्रयोग गरेर आवातजावत गरिरहेका छन् । मम्चेडाँडामा सडक पहिरिएर नामोनिशाना छैन । उक्त पहिरोका कारण धार्चे गाउँपालिका वडा नं. ४ र ५ को लाप्राक, गुम्दा, सिङ्लाका स्थानीयहरु समस्यामा परेका छन् ।

त्यहाँका बासिन्दाहरु सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा जानका लागि गाडी चढ्न कि त बारपाक कि त माछिखोला पुग्नु पर्ने बाध्यता छ । यी दुवै ठाउँ पुग्न करिब तीनदेखि चार घण्टासम्म लाग्छ । अकस्मात बिरामी वा घाइते भएमा बोकेर नै अस्पतालसम्म पु¥याउन पर्ने बाध्यता छ । यहाँ बर्षेनी पहिरो गइरहन्छ । तसर्थ पक्की संरचना बनाएर सडकलाई हिउँद बर्खै गाडी चल्ने बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्