
कृषिप्रधान देशमा मलको हाहाकार नहोओस्
नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी मुलुक हो भनिन्छ, तर, यथार्थमा त्यस्तो छैन । ‘हरियो वन नेपालको धन’ भन्ने कथनी पनि मिथ्या सावित हुदै गएको छ । अर्को कथन छ, ‘नेपाल कृषिप्रधान मुलुक हो ।’ बालकैदेखि सबैको जनजीब्रोमा झुण्डिने यो भाष्यमा पनि सत्यता छैन किनभने यहाँ हरेक कृषि उत्पादन बाहिरदेशबाट आयात गर्नुपर्दछ ।
जुन देशमा बर्षेनी खर्बौँ रुपैयाँ बराबरका खाद्यान्न छिमेकी राष्ट्रबाट आयात गरिन्छ, जुन मुलुकमा हरेक बालीका बिउबिजन आयात गरिन्छ, जुन देशमा मलको कारखाना छैन, सिजनमा किन्न पनि पाइँदैन, आधुनिक कृषि औजार पनि छैन, जुन मुलुकका अधिकांश युवाशक्ति वैदेशिक रोजगारीमा गएका छन्, जुन देशका जनशक्ति कृषिबाहेक अरु पेशा रोज्छन्, जुन देशमा व्यवसायिक कृषि पेशा गरिँदैन, जुन मुलुकमा किसानहरु सबैभन्दा पुछारको प्राथमिकतामा छन् भने त्यो देशलाई कृषिप्रधान भन्नु उपाहास गर्नु हो ।
सबैखाले खेतीबालीमा जैविक(प्राङ्गारिक) मल उत्पादन गरेर प्रयोग गर्नु अतिउत्तम हो । उत्पादनतर्फ त ध्यान गएन–गएन, आयातित मल पनि पर्याप्त आपूर्ति गर्न नसकेर किसानसामु सरकार लज्जित छ । कम्तिमा मुख्यबाली धान, मकै वा जुनकुनै बालीमा मल राख्नु पर्ने मुख्य सिजनमा पर्याप्त मल उपलब्ध गराउन सक्नुपथ्र्यो । तर बिगत दशकौँदेखि किसानहरुले मलको अभाव, मलमा कालाबजारी खेपिरहनु परेको छ ।
मलको अभाव, मल अभावका कारण किसानले भोग्नु परेका सास्ती, मलमा दिनदहाडै भएको कालोबजारीका बारेमा नीति निर्माण तहमा बस्ने कोही पनि अञ्जान छैनन् । मलको समस्या कसरी समाधान गर्ने भन्ने अक्कल पनि उनीहरुसंग राम्रै छ, तर अपनाउँदैनन् । पुँजीवादी हुँ भन्ने पार्टीको नेतृत्वमा सरकार हुँदा पनि समाधान भएन, सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने पार्टी हुँ भन्नेको नेतृत्वमा सरकार हुँदा पनि यो समस्या समाधान भएन । तसर्थ मल कालोबजारी हुन नदिऔँ, किसानलाई मनग्गे मल आपूर्ति गरौँ ।




