
स्क्रब टाईफसबाट बचौँ, बचाऔँ
स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो साउन महिनामा मात्रै ४० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्य सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
१९ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाईफस पुष्टि भएको छ । यसैगरी भिमसेनथापा गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ ।
चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमाचाहिँ स्क्रब टाइफस सर्दैन । यो रोग किर्नामा पाइने ओरेन्टिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिनेगर्छ ।
स्क्रब टाइफस भएमा अत्याधिक ज्वरो(१०४ डिग्री फरेन्हाइटभन्दा बढी) ज्वारो आउने गर्छ । काम ज्वरो पनि आउन सक्छ । धेरै टाउको दुख्छ, पसिना धेरै आउँछ, आँखा रातो हुन्छ र झाडापखालासमेत लाग्छ । त्यस्तै बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्दै जान्छ । कीराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ । पछि कालो दाग बस्न सक्छ ।
यसबाट बच्न खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । सम्भव भएसम्म लामो जुत्ता लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने गर्नुपर्छ । त्यस्तै सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने गर्नुपर्छ । सकेसम्म घाँसबारी वा चउरमा नबस्ने, चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने गर्नुपर्छ । यसरी सावधान भइयो भने यो रोगबाट बच्न र बचाउन सकिन्छ ।




