| सोमवार, कार्तिक २३, २०८३

आपसी समझदारीबाट विवाद सुल्झाऔं

प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर केही दिनअघि पालुङटारको बहुप्राविधिक शिक्षालयका शिक्षकमाथि एक बिद्यार्थी समूहले दुव्र्यवहार गरे । कार्यकक्षमा सामान्य तोडफोड सहित उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरे । शिक्षालयमा भएको उक्त घटनामा राजनीति जोडेपछि समाधान हुनुपर्ने विवाद चर्किदै गएको छ ।

शिक्षकमाथि दुव्र्यवहार गर्नु आफैमा गलत हो । त्यसमाथि पनि अराजक बनेर कार्याकक्ष तोडफोड र तालावन्दी गर्नु पक्कै राम्रो होइन । यसबाट पर्न सक्ने असर र प्रभावलाई नजरअन्दाज गर्नु हुदैन । यस्ता गतिविधि गर्नेहरुले आत्मलोचना गर्दै आफ्नो गल्तीको महशुस गर्नैपर्छ ।

तर यो घटना हुनुमा शिक्षक र शिक्षालयको पनि कमजोरी पक्कै छ । प्रयोगात्मक परीक्षामा पटक पटक एउटै बिद्यार्थीलाई फेल गराउनुमा शिक्षकको पनि बदनियत देखिन्छ । शिक्षकले सामान्य कुरामा बिद्यार्थीमाथि तुष राख्ने र बदलाको भावनाले हेर्नु बिल्कुल गलत हो । अझै राजनीति जोडेर राजनीतिक बिभेद गरेको हो भने झन् ठुलो गल्ती हो ।

यो घटनामा बिद्यार्थी र शिक्षक दुवैका केही कमी कमजोरी देखिएका छन् । समन्वयकारी भूमिका निर्वाह गर्न नसक्ने शिक्षालय प्रमुख पनि यस घटनामा उत्तिकै जिम्मेवार छन् । जे जस्तो भएपनि आखिरमा घटना भइसक्यो । अव त्यही घटनालाई लिएर राजनीतिकरण गर्ने, अनावश्यक तुष र बदलाको भाव दुवै पक्षले राख्नु हुदैँन ।

शिक्षकमाथि अभद्र व्यवहार गर्नेहरुले गल्तीको महशुुस गर्नपर्छ भने शिक्षकले पनि बिद्यार्थीमा अनावश्यक तुष राखेर भेदभाव गर्नुहुन्न । बिद्यार्थीले गरेको कमी कमजोरीलाई क्षमा दिनु एक असल शिक्षकको दायित्व पनि हो । यस बिवादलाई थप चर्काउनु भन्दा आपसी समझदारीमा सामान्यीकरण गर्नु उपयुक्त होला ।

प्रतिक्रिया दिनुहोस्