
मनसुनजन्य विपदबाट प्रभावितहरुको उद्धार तथा स्थानान्तरणका लागि तयार रहन आग्रह
मनसुनजन्य विपदबाट प्रभावित हुनसक्ने स्थानमा बसोवास गर्नेहरुलाई तत्काल उद्वार तथा स्थानान्तरणको लागि आवश्यक तयारीमा रहन सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ । बिहीवार बसेको विपद व्यवस्थापन समिति बैठकले उद्धार तथा स्थानान्तरणका लागि सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, बिभिन्न संघसंस्था र सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
सरोकारवाला निकायहरु रहने गरी भाइवर, फेसवुक लगायतका सामाजिक संजालमा समूह बनाएर आफ्नो क्षेत्रको विपदको अवस्थाको बारेमा निरन्तर सूचना प्रवाह गर्न पनि भनिएको छ । मनसुनजन्य विपदबाट प्रभावितहरुका लागि गृहमन्त्रालयमा प्राप्त हुने त्रिपाल वितरण गर्न बैठकले मापदण्ड समेत तयार गरेको छ ।
विपदबाट पीडित पक्षले सम्बन्धित स्थानीय तह वा अन्य कुनै निकायबाट सहयोग तथा राहत प्राप्त नगरेको एकिन गर्ने, सहयोग वा राहतको दोहोरो भुक्तानी नहुने व्यवस्था मिलाउने, राहतका लागि प्राप्त निवेदनमा स्थानीय तहको सिफारिस, प्रहरी मुचुल्का र प्राविधिक फिल्ड समेतका आधारमा वितरण गर्ने र राहतका लागि प्राप्त निवेदनमा बैकल्पिक आवासको व्यवस्था भए नभएको एकीन गर्ने लगायतका मापदण्ड बनाइएको समितिले जनाएको छ ।




