
किसानलाई क्षतिपूर्ति उपलब्ध गराउ
कृषि प्रधान देश भनिएपनि किसानहरुको पीडा र दुख अनगिन्ती छन् । खेतिको सुरुवातीदेखि उत्पादन भएपछिको बजार व्यवस्थापनसम्म उनीहरुले निकै समस्या झेल्नुपर्छ । त्यसमाथि मनसुनजन्य विपदले पनि बेलाबखत उनीहरुलाई सताइरहन्छ ।
केही दिन अघिको अविरल बर्षाले जिल्लाका अधिकांश ठाउँको धान खेतिमा क्षति पु¥यायो । ‘मानो रोपेर मुरी फलाउने’ बेला किसानहरुले गरेको दुख व्यर्थ भएको छ । रोपाई भएको अधिकांश ठाउँमा भल पसेर धान खेतिमा क्षति पु¥याएपछि किसानहरु चिन्तित छन् ।
गोरखा नगरपालिकामा मात्र करिव तीन सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतिमा क्षति पुगेको छ । अन्य पालिकामा पनि अवस्था उस्तै छ । कहिले खेतमा खोला पस्ने, कहिले कुलो भत्किएर भल पस्ने र कहिले पानी अभावमा रोपाई गर्न नसकिने । यस्ता समस्या जिल्लाका किसानहरुका लागि खासै नौलो त होइन । तर यस्ता समस्या नियन्त्रणका लागि पुर्व तयारी भने हालसम्म भएको देखिदैन ।
जिल्लाका कतिपय किसानहरुको बर्षभरी पुग्ने अन्न उब्जाउने बेला यही हो । तर यही समयमा मनसुनजन्य विपदले प्रहार गरेको उनीहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो । क्षतिपूर्ति उपलब्ध गराएको उनीहरुको पीडामा मलम लगाउन सक्नुपर्छ । स्थानीय सरकारको आभास गराउने यस्तै बेला हो । त्यसैले धान खेतिमा क्षति पुगेका किसानहरुले तत्काल राहत र क्षतिपूर्तिका कार्यक्रमहरु ल्याएर केही हदसम्म राहत महशुस गराउन सक्नुपर्छ ।




