
गरिब किसानको नाममा आएको बजेट फिर्ता हुनु दुखद
भनिन्छ, ‘गरिबलाई दिन्छु नभन्नू …।’ तर यहाँ स्याउ खेतीका लागि गरिब किसानको नाममा ३२ लाख रुपैयाँ आयो र ‘माछोमाछो भ्यागुतो’ भनेझै सो रकम कामै नगरी फिर्ता भएर गयो । अहिले धेरै युवाजनहरु विदेशिएका छन् । स्वदेशमै बसेर रोजगार, स्वरोजगार गर्न चाहनेहरुका लागि पनि वातावरण नैछ ।
गत आर्थिक बर्ष २०८०/०८१ मा स्याउ खेतीका लागि जिल्लामा आएको ३२ लाख रकम फिर्ता गएको छ । बगैचा स्थापना कार्यक्रम अन्तरगत आएको उक्त बजेट फ्रिज भएर गएको हो । बिरुवा नआएका कारण कार्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट स्याउको बिरुवा नआएपछि रकम फिर्ता भएको हो ।
नेपालमा स्याउको बिरुवा इटालीबाट आउने गर्दछ । यो वर्ष इटलीले स्याउको बिरुवा निर्यातमा प्रतिबन्ध लगाएकाले गोरखा लगायत देशैभरका स्याउ किसानहरु प्रभावित बनेका छन् । बिरुवा उपलब्ध गराउन नपाएपछि किसानबाट संकलन गरिएको २५ प्रतिशत रकम समेत फिर्ता गरिएको छ ।
स्याउ खेतीका लागि चुमनुब्री गाउँपालिकाबाट पाँच जनाले आवेदन दिएका थिए । उनीहरु सबै कार्यक्रमका लागि छनोट समेत भइसकेका थिए । तर कार्यक्रम नै कार्यान्वयन हुन सकेको छैन । यस बर्ष छनोट भएका कृषकहरुले चार सय देखि एक हजारसम्म स्याउको बिरुवा माग गरेका थिए । तर विरुवा पाउन पनि नसक्दा तथा आएको बजेट पनि फिर्ता भएर जाँदा किसान निराश भएका छन् ।
यसमा दोष कृषि ज्ञानकेन्द्र गोरखाको छैन । दोष नेपाल वा प्रदेश सरकार, कृषि मन्त्रालयको पनि छैन, तैपनि केन्द्र सरकार र प्रदेश सरकारकाले जिल्लाका कार्यक्रम फिर्ता हुन नदिन विभिन्न विकल्पहरु तय गर्न सक्थे हुनन्, तर गरेनन् ।
जे होस्, नेपाल जस्तो गरिब मुलुकमा विभिन्न शीर्षकमा विनियोन भएको बजेट काम नगरी फिर्ता गर्नु दुखद हो ।




