
ठाँटीपाटीको जगेर्ना गर्ने कार्यक्रम ल्याऔँ
कुनै समय थियो, धर्म, संस्कृति, प्राचीन सम्पदा ध्वंस गर्नुपर्छ भन्दै एउटा शक्ति जुर्मुराएर उठेको थियो । पछि त्यो शक्तिले प्राचीन सम्पदा, संस्कार, संस्कृतिको गहन महत्व बुझ्यो । अनि त्यही प्राचीन सम्पदा, संस्कृति, संस्कार भनेको जातीय पहिचान हो, यसको संरक्षण गर्नुपर्छ भन्ने आवाज बुलन्द गरायो । त्यतिले नपुगेर आफ्नो पहिचानको संरक्षण गर्नका लागि फरक संस्कार, संस्कृति भएकाहरुसंग संघर्ष गर्नुपर्छ भनेर प्रशिक्षण ग¥यो ।
जे भए पनि परम्परा, संस्कार, संस्कृति भनेको पहिचान हो । पहिचानको संरक्षण गर्नु सबैको दायित्व हो । सबै जातजाति, समुदायको आ–आफ्नै धर्म, कला, भाषा, संस्कार, संस्कृति, भेषभुष हुन्छ । त्यसको आफ्नै प्रकारको महत्व छ । त्यसको संरक्षण गर्नु सम्बन्धित समुदायको जिम्मेवारी हो । त्यसका लागि स्थानीय सरकारको होस्टेमा हैँसे चाहिन्छ । कला, भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न ठूलो लागत लाग्ने कार्यक्रममा प्रदेश सरकार तथा संघ सरकारको पनि जोडबल चाहिन्छ । स्थानीयको अपनत्व झन आवश्यक पर्छ ।
पालुङ्टार नगरपालिका ९ सिस्नेरीका बासिन्दाले आफ्नो गाउँमा अवस्थित ठाँटी, चौर, चौताराको संरक्षणमा मिहिनेत गरेका छन् । त्यहाँ चौर, चौतारा र ठाँटी एकै ठाउँमा रहेको छ । मगर समुदायको बाहुल्यता रहेको त्यहाँको चौर, चौतारा, ठाँटी मौलिक खालको छ । स्थानीयबासी उकाली ओह्राली गर्दा भारी बिसाउने, बस्ने, बेलाबेला मेलापर्व मनाउने, नाचगान गर्ने काममा पनि त्यहाँको चौर, चौतारा, ठाँटीको प्रयोग गर्ने गर्छन् । साथै त्यहाँ रोटेपिङ पनि रहेको छ ।
सयौंबर्षदेखिको चौर, चौतारा र पचासौँ बर्षअघि बनेको ठाँटी र पिङ जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र विकास गर्न स्थानीयले चासो राख्नु सकारात्मक प्रयास हो । त्यसका स्थानीय सरकारले साथ दिनु प्रसंसनीय छ । स्थानीयबासी आफूआफूले चन्दा संकलन तथा श्रमदान गरेका छन् । सबैको साथ र सहयोगमा मौलिक सम्पदाको संरक्षण हुनु प्रसंसनीय काम हो ।




