
सबै सुरक्षा निकायको सक्रियतामा वनसम्पदाको अवैध कारोबार नियन्त्रण गरिने
मनास्लु संरक्षण क्षेत्र तथा जिल्लाका अन्य क्षेत्रमा हुनसक्ने वन्यजन्तु तथा जडिबुटीको अवैध कारोबार नियन्त्रण गर्न चारै सुरक्षा निकाय एकजुट हुने भएका छन् । वन्यजन्तु अपराध नियन्त्रण इकाइ गोरखाले आयोजना गरेको बैठकमा सुरक्षा निकायहरु यस्तो प्रकृतिको अपराध नियन्त्रणमा एकजुट हुने निर्णय गरेका हुन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को आयोजनामा सम्पन्न भएको सो इकाइको बैठकमा गोरखास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुले सो निर्णय कार्यान्वयन गर्ने जनाएका हुन् ।
वन्यजन्तु अपराध नियन्त्रण इकाइका संयोजक डिभिजनल वन अधिकृत मदनमोहन साण्डिल्यको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले अखेटोपहार तथा जडिबुटीको अवैध संकलन, ओसारपोसार नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।




