| मङ्लबार, कार्तिक २४, २०८३

बालमन्दिरका अनाथ बालबालिकालाई खाद्यान्न प्रदान

गोरखा नगरपालिका –६ स्थित बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । लायन्स क्लब अफ गोरखा दरबारले पद हस्तान्तरणको अवसरमा बालमन्दिर माविमा आवसीय सुविधासहित पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

चामल, नुन, तेल, दाल, गेडागुडीसहित खाजाहरु सहयोग गरिएको क्लबका अध्यक्ष सुवास अधिकारीले बताए । सोमबार एक कार्यक्रमका बीच उक्त सहयोग अध्यक्ष अधिकारीले विद्यालयका प्रधानाध्यापक अनन्त न्यौपानेलाई हस्तान्तरण गरेका थिए । अनाथ बालबालिकालाई शिक्षा सँगसँगै खाद्यान्नको अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए ।

लायन्स क्लब अफ गोरखा दरबारका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको खाद्यान्न सहयोग कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रविन श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुमन श्रेष्ठ, सचिव प्रताप ढकाललगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हाल बालमन्दिर माविमा २० जनाभन्दा बढी अनाथ बालबालिका आवसीय सुविधासहित पठनपाठन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्