| मङ्लबार, कार्तिक २४, २०८३

सामुदायिक विद्यालय लक्षित ‘कानुनी साक्षरता कार्यक्रम’ संचालन

गोरखा नगरपालिकाको न्यायिक समितिले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित ‘कानुनी साक्षरता कार्यक्रम’ संचालन गरेको छ । कार्यक्रम अन्तरगत समितिले ३ सामुदायिक विद्यालयहरुमा सहजीकरण गरिसकेको बताएको छ ।

‘आइतबार र सोमबार ३ विद्यालयहरु महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेवेटार र महेन्द्र मावि कुन्दुरमा कार्यक्रम सम्पन्न गरिसकेका छौँ’, गोरखा नगरपालिकाकी न्यायिक समिति सदस्य साबित्रा थापा मगरले भनिन्, ‘मंगलबार शक्ति मावि पाटेचौर र सरस्वती मावि आहालेमा कार्यक्रम गर्दै छौँ ।’

गत वर्ष पालिका भित्रका १४ वटै वडामा कानुनी साक्षरता कार्यक्रम गरेको समितिले यो वर्ष भने ५ सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध र कानुनी साक्षरताका विषयमा अभिमुखीकरण गराएको उनले बताइन् । आगामी वर्षहरुकमा कार्यक्रमको दायर बढाउँदै लैजाने उनको भनाई छ ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सुरेन्द्रराज काफ्लेले स्थानीय तहमा न्यायिक समितिको क्षेत्राधिकार र महत्वको विषयमा सहजीकरण गराएको बताइएको छ । यस्तै, कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लागु औषधका विषयमा सुरक्षकर्मीहरुले अभिमुखीकरण गराएका थिए । विद्यार्थीहरुलाई सामन्य कानुनी विषयमा जानकार गराउन र लागु औषध दृव्यसनीको रोकथामका लागी कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

गोरखा नगरपालिका न्यायिक समिति संयोजक मसली माया थोकरको अध्यक्षतामा संचालित कार्यक्रममा न्यायिक समिति सदस्यहरु, सुरक्षाकर्मी, कानुनविद लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्