
चुमनुब्री ३ का महिला समूहलाई नेतृत्व विकास तालिम
मनास्लु संरक्षण क्षेत्र आयोजनाले चुमनुब्री गाउँपालिका वडा नं. ३ मा स्थानीय न्यायिक समिति तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । सो वडाका नौ वटा महिला समूह तथा वडा नं. ६ को लोक्पा आमा समूहका पदाधिकारीहरुलाई सहभागी गराएर एमक्यापले तालिम दिएको हो ।
तालिममा प्रत्येक समूहबाट दुईजनाका दरले पदाधिकारी सहभागी गराइएको आयोजनाका संरक्षण अधिकृत भुवन ओझाले जानकारी दिए ।
सो कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङले स्थानीय तहमा रहेको न्यायिक समितिको काम, कर्तव्य अधिकार, भूमिकाका बारेमा अवगत गराएका थिए । त्यस्तै एमक्यापका संरक्षण अधिकृत भुवन ओझाले महिला र आमा समूहहरुको संरक्षणमा नेतृत्वदायी भूमिकाका बारेमा सहजीकरण गरेका थिए ।




