
पर्यटन विकास हुने होइन, पर्यटन विकास गर्नैपर्छ
भनिन्छ, आहारा खाने चरी आशिर्वादले बाँच्दैन । अर्थात मिठा, मिठा भाषण, शुभकामना, शुभेच्छाका शव्दगुच्छाले मात्र काम हुदैन । सिद्धान्तले मात्र पनि काम तमाम हुदैन, जसरी आत्माले मात्र जीवन हुदैन ।
कुनै पनि काम हुनका लागि सिद्धान्त र त्यसको कार्यान्वयन हुनुपर्छ । जीवन पूर्ण हुनका लागि पनि आत्मा र शरीर दुवै हुनुपर्छ । सिद्धान्त मार्गचित्र हो, गन्तव्यमा पुग्न मार्गचित्रले मात्र पुग्दैन, यात्रा गर्नैपर्छ भनेझै पर्यटन विकास पनि मिठा, मिठा भाषणले मात्र हुदैन । पर्यटन विकासका लागि पर्यटन विकास गर्नैपर्छ ।
पर्यटन विकासको आत्मा भनेको त्यसको रुट निर्धारण हो । रुट निर्धारण मात्र सबैथोक होइन, पर्यटन पूर्वाधार निर्माण गर्नैपर्छ । पूर्वाधार निर्माणले मात्र पनि पुग्दैन, पर्याप्त प्रचारप्रसार, विज्ञापन गर्नैपर्छ । पर्यटन व्यवसायी(कम्पनी)हरुसंग समन्वय, सहकार्य गर्नुपर्छ ।
हालै गोरखा नगरपालिकाको पर्यटन विकास गर्ने उद्देश्यले यहाँ विभिन्न रुट निर्धारण गरिएको छ । यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक पर्यटकीय स्थलहरुको विवरण संकलन गरी रुट तय गरिएको हो । पालिकाले रुट नम्वर १ मा रानीपोखरी, गोरखा दरवार, संग्रहालय, बिसे नगर्ची पार्क, तल्लो कोट, रामशाह चौतारा, कुइरेभिर भ्यू टावर, झाँक्री गुफा, रक गार्डेन, सरस्वती आश्रम लगायतका स्थललाई राखिएको छ ।
फूलपाती सेलाउने कुण्ड, चिल्ड्रेनपार्क, दुलेदेउता, द्रव्यशाह चौतारा, पश्चिमकाली मन्दिर, हिलेपोखरी लगायतका स्थललाई रुट नम्वर २ मा समावेश गरिएको छ । रुट नम्वर ३ मा सतिपिपल गुम्वा, बिन्ध्यवासिनी मन्दिर, भीमसेन पार्क, जर्नेल धारा, बेनिखोला ताल लगायतका स्थल रहेका छन् । झाँक्री गुफा, डेरागाउँ जामे मज्जिद, भुत्याहा छाँगो, अकला मन्दिर, ताप्लेकोट मन्दिर र देविस्थान मन्दिर रुट नम्वर ४ मा परेका छन् ।
आमडाँडा मन्दिर, योगी आश्रम, गोरखनाथ मन्दिर, बिरेडाँडा पार्क, बिरिमकाली मन्दिर, थुम्काचुली भ्यू टावर र लट्टेश्वर महादेव तथा महादेवटारी उद्यान रुट नम्वर ५ मा छन् । रुट नम्वर ६ मा महादेव मन्दिर, अकला मन्दिर बुढीकोट मन्दिर र रामशाह घाट पर्दछन् । यी सबै क्षेत्रमा पर्यटन पूर्वाधारको खाँचो छ ।




