| आइतवार, बैशाख १४, २०८२

पूर्णखोपलाई दीगोपना दिउँ

गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका ९४ वटै वडालाई पूर्णखोप सुनिश्चितता र दीगोपना तथा ११ वटै पालिकालाई पनि सो घोषणा गरेपछि गत बुधबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा गरिएको हो ।

अब गोरखाका कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित छैनन् र हुनेछैनन् पनि । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार गोरखामा हाल १५ महिनासम्मका बालबालिकाहरुको संख्या तीनहजार तीनसय २७ रहेको छ । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको संख्या १० हजार २ सय ५५ रहेको छ । उनीहरुमध्य सबैले पूर्णखोप लगाएका छन् । साथै सो उमेर समूहका बालबालिकालाई आउँदा दिनमा पनि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

गत बैशाख महिनाभर जिल्लाका ९४ वटै वडाका स्वास्थ्यकर्मीहरुले आ–आफ्नो वडाका १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुले १५ महिना भित्र लगाइसक्नुपर्ने खोप लगाए वा नलगाएको र १५ महिना भित्रका बालबालिकाहरुले नियमित रुपमा खोप सेवा लिईरहेका छन् वा छैनन् भनेर घरदैलो मार्फत तथ्याङ्क संकलन गरेका थिए ।

त्यतिबेलो केही बालबालिका छुटेको पाइएको थियो । पछि ती बालबालिकाहरुको पहिचान गरी जेठ महिनाको नियमित खोपमा खोप पूरा गरिएको थियो । अब कुनै पनि बालबालिकालाई नछुटाउने प्रतिवद्धता गरिएको छ । केहीबर्षअघि गोरखालाई पूर्ण साक्षरता जिल्ला घोषणा गरिएको पनि थियो ।

र्गमका गाउँहरुमा विद्यालयको मुख नदेखेका बालबालिकाको संख्या बग्रेल्ती हुँदाहुँदै पनि त्यस्तो घोषणा गरिएको थियो । २०७२ सालको भूकम्पभन्दा अघि गोरखाका सबै नगरपालिका, गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो । धार्चे, चुमनुब्रीका कैयौँ घरहरुमा सौचालय थिएनन् । अहिले पनि छैनन् । तैपनि यस्तो घोषणा गरिएको थियो । अहिले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यो पनि त्यस्तो नहोओस् ।

प्रतिक्रिया दिनुहोस्