
बर्षाका बेला विपद व्यवस्थापन समिति चनाखो बनोस्
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय, सर्वपक्षीय बैठक बसी विपदबाट बच्ने, विपद न्यूनिकरण गर्ने लगायतका छलफल र विभिन्न निर्णयहरु भएका छन् । बैठकपछि अब जिल्लाभित्र हुनेसक्ने विपदलाई व्यवस्थापन गर्नका लागि पूर्व तयारी थालिएको छ ।
मनसुनजन्य विपद व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने भएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने छन् । प्रजिअ संयोजक रहेको जिल्ला विपद सहायता कक्ष संचालनका लागि पनि समिति गठन हुने भएको छ ।समिति गठन गर्ने र प्रत्येक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय विपद सहायता कक्ष स्थापना गर्ने निर्णय बैठकमा भएको छ ।
यथासीघ्र विपद व्यवस्थापन गर्नका लागि प्रयोग गरिने उद्दार र राहतका सामग्री पालिकाहरुमा कति छन् ? त्यसको विवरण तीन दिनभित्र प्रशासन कार्यालयलाई बुझाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ । विपदको समयमा तत्काल प्रयोग गर्नुपर्ने सामग्रीहरु तयारी अवस्थामा राख्न पनि बैठकले निर्देशन गरेको छ । विपदका बेला घाइते भएकालाई प्राथमिक उपचारका लागि प्रत्येक स्थानीय तहले आवश्यक जनशक्ति तयार गर्नुपर्ने बैठकले आग्रह गरेकोछ ।
विपदका कारण क्षति हुन सक्ने सडकको मर्मत संम्भार र संचालनको जिम्मा सम्बन्धित निर्माण व्यवसायीलाई दिइएको छ । विपदको समयमा खाद्यान्न अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन गोरखा उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ ।
विपदको समयमा तत्काल प्रयोग गर्न मिल्ने आपतकालिन आश्रय स्थल र खुल्ला क्षेत्रको विवरण संकलन गर्न भनिएको छ ।
जिल्ला स्तरको सो समितिले जिल्लाभरका विपदमा ध्यान दिनुपर्ने हुन्छ । अहिले हरेक पालिकामा पनि यस्ता समिति छन् । ती समिति पनि यो बेला निक्कै सजग र सतर्क अबस्थामा रहनुपर्छ ।




