| सोमवार, कार्तिक २३, २०८३

स्थानीय उत्पादन प्रवद्र्धन गर्ने अजीरकोटको अभियान

अजिरकोट गाउँपालिकाले कोदोको रक्सीको स्तर निर्धारण(लेभलिङ) गरी ब्राण्डिङ गर्ने नीति तय गरेको छ । रासयनिक मल प्रयोग नगरी खेतीपाती गर्ने नीति अबलम्बन गरेको सो पालिकाले आउँदो बर्ष पनि स्थानीय(लोकल) उत्पादनलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम घोषणा गरेको हो ।

पालिकाले खुर्पानीको जुस र वाइन उद्योग संचालनका लागि सम्भाव्यता अध्ययन गरिने पनि पालिकाले घोषणा गरेको छ । पानीअमला, काफल, ऐँसेलु, चुत्रो जस्ता वनजन्य फलफूललाई उद्योगसँग जोड्न वाइन उत्पादन अध्ययन अनुसन्धान गर्ने भएको छ । बटारे लगायतका हानीकारक मदिरा बिक्री वितरणमा रोक लगाउने र घरेलु मदिरालाई व्यवस्थित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गुन्द्रुक उद्योगलाई निरन्तरता दिँदै मस्यौरा, गुन्द्रुक, न्यूरो, टुसा जस्ता स्थानीय उत्पादनको वर्गीकरण र ब्राण्डिङ गर्ने योजना पनि अजीरकोटको छ । कोसेली घर निर्माण गरी उक्त उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने नीति पालिकाको छ ।
नेपाली कागज र दुना टपरी उद्योगको उचित व्यवस्थापन गर्ने, डोको, नाम्लो, डालो, नाङ्लो, मान्द्रो, भकारी, राडी र बख्खुको उत्पादन, प्रवद्र्धन र बजारीकरण कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम पनि सो पालिकाको छ । पर्यटन प्रवद्र्धनका लागि गोठ होमस्टे कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने, नागेपोखरी ङार्कु हाई अल्टिच्यूट साइक्लिङ रुट निर्माणले आउँदो बर्षपनि निरन्तरता पाउने भएको छ ।

आगामि आर्थिकवर्ष पालिकाले भेडा, च्याङ्ग्रा, चौरी लगायतका पशु चौपायाको व्यवसायिक पालनमा जोड सो पालिकाले जोड दिएको छ । आलु, प्याज, लसुन, अदुवा, बेसार र खुर्सानीमा आत्मनिर्भर बन्ने नीति पालिकाले लिएको छ । स्थानीय सरकारको काँधमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, विकासे भन्दा रैथाने बालीलाई प्रवद्र्धन गर्ने जिम्मेवारी छ । आयातलाई न्यूनिकरण गर्ने, आत्मनिर्भरतालाई बढवा दिने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्