| सोमवार, कार्तिक २३, २०८३

बिओपी स्थापनामा अव ढिलाइ नगरौं

ढिलै भएपनि उत्तरी गोरखाको तिब्बत नाकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुन लागेको छ । साम्दोमा स्थापना हुन लागेको बिओपीको सम्पूर्ण तयारी पूरा समेत भइसकेको छ । घरभाडाको अल्झन समेत सुल्झिसकेको छ । यसअघि चर्चामा मात्र सिमित रहेपनि अव भने बिओपी स्थापना हुनेमा आशावादी बन्न सकिन्छ । अवको एक साताभित्र बिओपी स्थापना हुने गरी तयारी भइरहेको समेत बताइएको छ ।

नेपाल र चीन बीचको सीमानामा हुने अवैध गतिविधि नियन्त्रणका गर्ने बिओपी स्थापनाको प्रमुख उदेश्य हो । त्यति मात्र होइन सीमा सुरक्षा, सीमा हुदै गरिने अवैध ओसारपसार र आवतजावत रोक्ने आदि काम बिओपीले गर्ने विश्वास लिइएको छ । तर बिओपी स्थापना गर्न जति सहज त्यहाँ बसेर सुरक्षा दिन छैन । एक त भौगोलिक बिकटता, अर्काे हिमपातले जीवनशैली नै प्रभावित भइरहने त्यो ठाउँमा बसेर सुरक्षा दिन त्यति सहज भने देखिदैन ।

त्यसमाथि आवश्यक भौतिक संरचना अभाव अर्काे चुनौती छ ।अर्काे बिओपी स्थापनाका लागी आवश्यक सामग्री ढुवानीका लागी हेलिकप्टरको व्यवस्थामा सरकारले कन्ज्यूँस्याई गरिरहेको छ । सडक सञ्जाल नजोडिएको र भौगोलिक बिकटता भएको सो क्षेत्रमा आवश्यक सामान ढुवानी गर्न पनि समस्या छ । यो समस्याप्रति पनि सरकारको ध्यान पुग्नुपर्छ ।

ढिलै भएपनि बिओपी स्थापना हुन लागेको कार्य स्वागतयोग्य छ । बिओपी स्थापनाभएसँगै सिमामा राज्यको उपस्थिती देखिने मात्र होइन सीमा क्षेत्र जोगाउन यसले अहम भूमिका निर्वाह गर्छ । सीमा क्षेत्रको सुरक्षाका लागी बिओपी स्थापना हुनु खुशीको कुरा हो तर, बिओपीमा सीमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीका लागी भौतिक पूर्वाधारसँगै आवश्यक अन्य सेवा सुविधाहरु पनि उपलब्ध गराउन राज्यले कन्ज्यूँस्याई गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्