| सोमवार, कार्तिक २३, २०८३

कोखेआहालेको पहिरो रोकिने सपना साकार बनोस

सडक निर्माण गरेकै सालदेखि कोखेआहाले बजारभन्दा केही पर जुगेपानीको पहिरो जाँदा आवतजावतमा सकस हुन थालेको हो । बर्षेनी लाखौँ खर्चेर टालटुल गर्नुपथ्यो, तर निरन्तर पहिरो जाँदा ठूलो भूक्षयसमेत भइरहन्थ्यो । जुगेपानी पहिरोले सडकलाई मात्र होइन, त्यसमाथि अवस्थित ताप्ले गाउँलाईसमेत जोखिममा पारेको थियो ।

अहिले पहिरोको फेदैदेखि तारजाली(ग्याभिन) भरेर पहिरो उकास्ने प्रयास भएको छ । जमिनमुनिबाट पानी बग्ने हुँदा जमिनको सतह पनि बग्ने गरेको थियो । अब पानी पनि तारजालीको सतहमाथिबाट बग्ने भएपछि जमिन नबग्ने आशा गरिएको छ ।
यदि पहिरो रोकथाम भयो भने गोरखा आरुघाट सडक त सुरक्षित त हुन्छ नै, सडकभन्दा थोरै माथि रहेको बस्ती पनि जोखिने ठूलो आशा, अभिलाशा छ ।

यो योजना सडक डिभिजन दमौलीले सञ्चालन गरेको हो । पहिरो नियन्त्रणका लागि सो डिभिजनले गत वर्षको जेठ १२ गते आइडी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौँता गरी काम अघि बढाएको थियो । सो योजनाका लागि डिभिजनले तीनकरोड ४५ लाखमा रुपैयाँमा आइडी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौँता गरेको थियो । अहिले ठेक्का अन्तरगतको सम्पूर्ण कामहरु सम्पन्न भइसकेका छन् ।

पहिरो उकास्ने काम भए पनि सडक कालोपत्रे गर्ने काम भने बाँकी छ । यो बर्ष पहिरो बग्छ अथवा रोकिन्छ हेरेर मात्र कालोपत्रे गर्ने कि नगर्ने निधो हुनेछ । त्यसका लागि काम सम्पन्न भए पनि एकबर्षका लागि सो सडकलाई अब्जर्भेसनमा राखेको छ ।
जुगेपानी पहिरो रोकथाम भएमा गोरखा नगरपालिका वडा नं १, २, भीमसेनथापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, घार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका सर्वसाधारण यात्रुले सो खण्डमा यात्रा गर्न सहज हुनेछ । गाउँ सुरक्षित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्