
ट्राफिक सप्ताहको दोस्रो दिन : जेव्राक्रस निर्माणदेखि प्रशिक्षणसम्म
ट्राफिक सप्ताहको दोस्रो दिन बुधबार जिल्लाभर ९० बढी स्वयंमसेवक परिचालन गरी प्रशिक्षण गराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र दश वटा स्थानीय तहहरुको अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले ९० बढी विद्यार्थी स्वयंसेवकहरु परिचालन गरी प्रशिक्षण गराएको हो ।
कार्यक्रममा स्वयंसेवक विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले बताए । स्वयंसेवकहरुले पैदल यात्रुहरुलाई बाटो काट्न सिकाउने, सडकको खाल्डा खुल्डि पुर्ने र अव्यवस्थित पार्किङ हटाउने लगायतका काम गरेका थिए ।
उनीहरुले चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी गराएको ट्राफिक इन्चार्ज पाठकले जानकारी दिए । ट्राफिक सप्ताहकै अवसर पारेर बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रस निर्माण गरेको छ । जिल्ला सदरमुकामको बिभिन्न सात ठाउँमा जेव्राक्रस निर्माण गरिएको बताइएको छ ।




