
‘कोसेली घर’ दीर्घकालसम्म चलोस्
एक समय थियो, गोरखाका पँदेली टोलमा ढाका कपडाका पसल धमाधम खुलेका थिए । महिलाहरु त्यहीँ ढाका बुनाइ गर्दथे । केही बर्ष त्यहाँ ढाका बुनाइको क्रम बढ्यो । ढाका बुनाइ प्रशिक्षण कार्यक्रम पनि चल्यो । त्यतिबेला माहोल हेर्दा गोरखाको पँदेली, ठूलोआँगन क्षेत्रमा ढाका कपडा उत्पादन, ढाका कपडाबाट विभिन्न कुरा उत्पादन र विक्रीको क्रम बढ्यो ।
तर समय वित्दैजाँदा स्थानीय स्तरमा बुनेको सामान भन्दा बाहिरबाट आयात गरेको ढाकाका सामान सस्तोमा प्राप्त हुन थाल्यो । व्यापार न हो, स्थानीय उत्पादनको मोहभन्दा सस्तो सामान बेचेर धेरै ‘मार्जिन’ को मोह बढ्दै गयो । अहिले उत्पादन भन्दा बाहिरबाट आयात गर्ने र बिक्री गर्ने काम हुन थालेको छ । कैयौँ ढाका कपडाका पसल त बन्द भइसके ।
स्थानीय उत्पादनलाई बढवा दिने र आयातलाई विस्थापन गर्ने नीति असफल हुनु दुखद कुरा हो । तिनै ताका ठूलोआँगन क्षेत्रमा ढाकाका कपडा, हस्तकलाका स्थानीय उत्पादन बेच्न राख्ने क्रम पनि बढ्यो । यसले गोरखाको उत्पादनले बजार पाएको, पर्यटकले गोरखाको कोशेली लगेर गोरखाको प्रचार भएको सुखानुभूति भएको थियो । तर यो सुखानुभूति लामो समय रहन पाएन ।
अहिले पनि जिल्लाका स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर गोरखा चेम्बर अफ कमर्श र नेपाल ओमन चेम्बरमा आबद्ध सदस्यहरुले ‘कोसेली घर’ संचालन आरम्भ गरेका छन् । गोरखा नगरपालिका वडा नं ६ र ७ को सिमाना बिपीचोक नजिकै रहेको नगरपालिकाको बहुउद्देश्यीय भवनमा कोसेली घरको पसल संचालनमा ल्याएको हो ।
कोशेली घरमा स्थानीय उत्पादनहरु घ्यु, मह, तोरीको तेल, चुक, गुन्द्रुक, चाना, मास, लोकल चामल, मकैको च्याँख्ला, कोदोको पीठो, फापर, भटमास, सिमी, तील, सिलाम, आलस, भाङ, बेसार, विभिन्न प्रकारका अचारहरु र हस्तकलाहरु कोसेली घरमा राखिएका छन् । कोशेली घरमा झट्ट हेर्दा गोरखा चिनिने खालका सामग्रीहरु पनि राख्दा अतिउत्तम हुनेछ ।
साथै कोशेली घर यसअघि ठूलोआँगनमा सञ्चालित कोशेली घर झै केही समय सञ्चालन भएर बन्द नहोओस् । दीर्घकालसम्म चलिरहोस्, शुभकामना ।




