
निरङ्कुश नबनौँ, लोकतान्त्रिक र सेवाग्राही मैत्री बनौँ,
उहिले उहिले सेवाग्राहीहरु सार्वजनिक बस चढेर सेवा लिन आउँथे । बसबाट ओर्लिएर उनीहरु हिँडेर कार्यालयहरुमा जान्थे । अहिले समय परिवर्तन भएको छ । अहिलेका सेवाग्राही निजी गाडी चढेर पनि सेवा लिन आउँछन् । उनीहरुले सवारी साधन व्यवस्थित रुपमा कतै राख्नुपर्ने हुन्छ । सेवाग्राहीको सवारी साधन पार्किङ गर्ने ठाउँको व्यवस्था कार्यालयहरुले गरिदिनै पर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था छैन, तर त्यसको सहजिकरण गरिदिनु कार्यालयहरुको धर्म हो ।
कुनै कार्यालयहरु भाडाको घरमा साँगुरो गरी चलेका हुन्छन् । कुनैको आफ्नै भवनमा सञ्चालन भएपनि सवारी पार्किङ गर्ने ठाउँ अत्यन्त साँगुरो हुन्छ । तर कतिपय कार्यालयको भने आँगन पर्याप्त फराकिलो हुन्छ । त्यस्ता कार्यालयले सरकारी गाडी मात्र नभै सर्वसाधारण सेवाग्राहीको सवारी साधन पार्किङ गर्न दिनु अनुचित हुदैन ।
अहिलेको जिल्ला समन्वय समिति बिगतको जिविसजस्तो व्यस्त छैन । त्यहाँ बिगतमा जस्तो भीड लाग्दैन । त्यसैले जिससभित्रका भवनहरु निर्वाचन, नापी कार्यालयलाई दिएको छ । नजिकै विद्युत प्राधिकरण छ । नजिकै प्रशासन, अदालत, सिँचाइ, मालपोत कार्यालयहरु पनि छन् । यति धेरै कार्यालयमा सेवा लिन सवारी साधन लिएर आएका सेवाग्राहीले गाडी पार्किङ गर्ने ठाउँ नपाएर अत्ताल्लिएका हुन्छन् ।
सेवाग्राहीहरु पार्किङका लागि मूल सडकमा जाउन् भने पनि त्यहाँ दुईतर्फी पार्किङ गर्ने व्यवस्था छैन । एकातर्फी पार्किङ बिसौनीमोडसम्म प्याक हुन्छ । यस्तो अबस्थामा जिससमा भएको यथेष्ट ठाउँ सेवाग्राहीलाई पार्किङ गर्न दिँदा अचाक्ली अन्याय, अक्षम्य अत्याचार हुँदैन । बजारमा सपिङ गर्ने उद्देश्यले आएकाहरुले पनि जिससको आँगनमा गाडी पार्किङ गरे भन्ने जुन आरोप छ, त्यो सत्य नहुन पनि सक्छ ।
यो बहानामा सेवाग्राहीलाई गाडी पार्किङ गर्न नदिएर उकुसमुकुस हुने अबस्था सिर्जना गर्नुहुदैन । जिसस मात्र होइन, सिँचाइ कार्यालयभित्र पनि पार्किङ स्थल छ । आफ्ना सेवाग्राहीलाई त्यहाँ पनि पार्किङ गर्न दिनुपर्छ । कि सेवाग्राहीहरु निजी गाडी नलिई आउनु होला भनेर सार्वजनिक सूचना जारी गर्ने हिम्मत गर्नुपर्छ । तसर्थ यति साह्रो निरङ्कुश नबनौँ, लोकतान्त्रिक बनौँ, सेवाग्राहीमैत्री व्यवहार गरौँ ।




