
महिला समूहको सेनिटरी प्याड उत्पादनको सन्देश
आयातमा निर्भर हुने प्रवृत्तिलाई न्यूनिकरण गर्नसक्नु आजको आवश्यकता हो । परनिर्भरता घटाएर आत्मनिर्भर हुन सक्नु अहिलेको खाँचो हो । वैदेशिक रोजगारमा पठाउनु होइन, स्वदेशमा रोजगारी सिर्जना गर्न सक्नु, स्वरोजगार गर्नु वा स्वदेशमै रोजगार गर्न सक्नु अहिलेको महानता हो । गोरखा कुखुराको मासुमा आत्मनिर्भर भएको धेरै भयो ।
माछामा पनि आत्मनिर्भर हुने भनेर प्रयास त गरेको हो, तर अहिलेसम्म सम्भव भएको छैन । आत्मनिर्भर हुने, स्वरोजगार गर्ने, स्वदेशमै रोजगार गर्नेतर्फ युवालाई प्रोत्साहन गर्नुपर्छ । यस्तो खालको कार्यक्रम गर्नु अहिलेका तीनै तहका सरकारको कर्तव्य हो । युवालाई गाउँमै, देशमै रोक्न सबैभन्दा सुरुमा स्थानीय सरकारले पहलकदमी लिनुपर्छ । त्यसपछि यस्तो खालको कार्यक्रम गर्न प्रदेश सरकारले र केन्द्र सरकारले पनि कार्यक्रम गर्नुपर्छ ।
सहिद लखन गाउँपालिकाले महिलाहरुका लागि अत्यावश्यक सेनिटरी प्याड निर्माणको काम गरेको छ । स्थानीय स्तरका महिलाहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड स्थानीय स्तरमै उत्पादन गरेर परिपूर्ति गर्ने काम त्यहाँका नवपालुवा कोसिस महिला समूहले गरेको छ । यसले आयात न्यूनिकरण गर्ने, परनिर्भरता घटाउने र आत्मनिर्भरता बढाउने काम गर्छ ।
संघमा आवद्ध महिलाहरुलाई नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले गत असोजमा सेनेटरी प्याड उत्पादन सम्बन्धी सात दिने प्रशिक्षण दिएको थियो । ‘एडवान’को तालिमपछि उनीहरुले पनि गाउँमै कोशिष नामकको सेनेटरी प्याड उत्पादन गर्न थालेका हुन् । एडवान संस्था र वडा कार्यालयको सहयोगमा गत माघबाट सो उद्योग संचालन गरेका हुन् । एड्वानले सेनिटरी प्याडका लागि काठमाडौँबाट कच्चा पदार्थ पठाउने गर्दछ ।
उनीहरुले प्याडको बजारीकरण गर्न गाउँपालिकासँग पनि समन्वय गरिरहेको छ । ‘कोसिस’ प्याडलाई बिस्तारै ब्रान्डिङ गरेर जिल्लाका अरु बजारहरुमा पु¥याउने लक्ष्य समूहको छ । यस्तै खालका कुनै न कुनै साना ठूला बस्तुको उत्पादन गर्दै आयातलाई बिस्थापन गर्न सक्नुपर्छ ।




