| सोमवार, कार्तिक २३, २०८३

पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा बनोस् ‘ब्रोसर’

लामो समयपछि यसबर्ष गोरखा सदरमुकाममा विदेशी पर्यटक देख्न थालिएको छ । बिगत केही बर्षदेखि देख्न छाडिएको विदेशी पर्यटक यसबर्ष देख्न पाउँदा पर्यटन विकास हुने झिनो आशा पलाउन थालेको छ ।विदेशी पर्यटकलाई नेपालमा घुमाउने जिम्मा लिएर काठमाडौँमा सञ्चालित ट्रावल तथा ट्रेकिङ एजेन्सीहरुसंग समन्वय गरी गोरखाका केही स्तरीय होटलहरुले विदेशी पर्यटकलाई गोरखामा ल्याउन सफल भएका हुन् । उनीहरुको यो पहल अझै वृद्धि हुदै जाओस्, विदेशी पर्यटकको संख्या गोरखामा आउने क्रम अझै बढ्दै जाओस् ।

गोरखामा आएका एकजना विदेशी पर्यटकले लगेको सकारात्मक सन्देश अरु पर्यटकलाई प्रभावित पार्ने खुराक बन्छ, त्यसैले बेलैमा सोचेर उनीहरुलाई बारम्बार गोरखामा आउने वातावरण बनाउनु जरुरी छ । उत्तरी गोरखाको मनास्लु क्षेत्र र चुम क्षेत्रमा बार्षिक नौ हजार भन्दा धेरै विदेशी पर्यटक आउँछन् । उनीहरुलाई गोरखा सदरमुकाम हुदै मनास्लु जाने नीतिगत वातावरण बनाउन गोरखा नगरपालिका र गोरखा उद्योग वाणिज्य संघ लागि परेको छ । तत्काल प्रयास सफल हुन नसक्ला, तर निरन्तरको यो प्रयासले पनि सफलता प्राप्त गरोस् ।

गोरखा नगरपालिकाले सदरमुकाम क्षेत्रको विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न ‘ब्रोसर’(बुकलेट) तयार गर्न लागेको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिकलगायतका दृष्टिकोणले महत्वपूर्ण रहेका ठाउँहरुको विवरण समेटी पर्यटन पुस्तिका बनाउन लागेको हो । पुस्तिकाले पर्यटकहरुमा गोरखा सदरमुकाम आएका पर्यटकले कुन कुन ठाउँको भ्रमण गर्ने, कुन कुन ठाउँको महत्व के छ भन्ने बारेमा जानकारी दिन सक्नेछ । यसले गर्दा पर्यटकले आफू घुम्ने ठाउँको बारेमा पूर्व जानकारी पाउने छन् । साथै यही बुकलेटमार्फत उनीहरुले अरुलाई गोरखा जानका लागि प्रोत्साहन दिन सक्नेछन् ।
त्यसैले गोरखा सदरमुकामको पर्यटन विकासका लागि पर्यटन पुस्तिका सहायक सिद्ध हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्