| सोमवार, कार्तिक २३, २०८३

सत्ता र शक्तिको दुरुपयोग नगरौँ

समाजशास्त्री जोन डिबे भन्छन्, ‘सामाजिक संरचना, अवस्था तथा सम्बन्धले व्यक्तिको लोभ, स्वार्थ, मोह, चाहना, भावनालाई निर्माण गर्दछ । कुनै पनि व्यक्ति जे जस्तो छ वा जे जसरी सोच्छ त्यसको पछाडि सामाजिक सांस्कृतिक संरचना, सम्बन्ध तथा अवस्थाको महत्वपूर्ण प्रभाव रहन्छ ।’

पालिकाहरु अहिले दोस्रो अवधिमा चलिरहेका छन् । पहिलो चरण ‘प्राक्टिश’मै बित्यो । दोस्रो चरणमा विकास र संवृद्धिको ठूलो अपेक्षा गरिएको चरण हो, तर गोरखाको मात्र होइन, देशका अन्य पालिकाको अबस्था हेर्ने हो भने पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु पालिका, वडामा भन्दा राजधानी, सदरमुकामतिर धेरै भेटिने भएकाछन् । जनप्रतिनिधि बन्नुको म्मेवारी(औचित्य) चुनाव जित्नुमै सीमित राख्दै बाँकी जिम्मेवारी, कर्तव्य र दायित्वलाई नजरअन्दाज गर्नेहरुका कारण त्यो अवधि पालिकाका लागि अभिसाप बन्न पुग्ने गरेको छ ।

सबै उस्तै छैनन् । कतिपय जनप्रतिनिधिहरु भने आवश्यकता र पालिकाको काम विशेषले राजधानी, सदरमुकामतिर धाउने नत्र पालिकाभित्रै बस्ने, दिनरात पालिकाबासीको घरदैलो, सुख, दुखमा साथ दिने सच्चा जनसेवक पनि देखिन्छन् । पालिकामै बस्ने जनप्रतिनिहरु पनि कतिपयको दादागिरी जनमानसमा सहिनसक्नु छ ।

गाउँगाउँमा सिँहदरबार भन्ने सुन्दर पंक्तीलाई अपव्याख्या गर्दै कतिपय जनप्रतिनिधिहरु सिँहदरबारका ‘सिँह’ बन्ने कुचेष्टा गर्छन् । पालिकाका सिँहदरबार प्रमुख भनेको सर्वश्रेष्ठ हुन्, सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्यापी हुन् भन्ने भ्रम उनीहरुमा छ र जनमानसमा जबर्जस्त त्यही लाद्ने दुश्प्रयास गर्छन् ।

उत्तर कोरियाका राष्ट्रपति आफ्नो हेयर स्टायल जस्तो छ, सबै जनताको हेयरस्टायल त्यस्तै पार्नुपर्ने हुकुम गर्छन् । आफूले जुन बार जुन पहिरन लगाएको छ, त्यसबार आम जनताले त्यस्तै पहिरन लगाउनु पर्ने आदेश गर्छन् । हाम्रा कतिपय पालिकाका सिँहदरबार हाँक्नेहरु पनि त्यस्तै आभास हुने गरी हुकुमी शासन लाद्ने प्रयास गर्दैछन् । आफ्नो पालिकाभित्रको हावा पनि आफैले चाहेकोतिर बहनुपर्छ, आफ्नो आदेश अनुसार घाम लाग्नु वा पानी पर्नुपर्छ भन्ने ठान्दछन् ।

आफ्नो पार्टीका ग्राहकलाई मात्र व्यापारीले सामान बेच्नुपर्छ, आफ्ना पार्टीका सेवाग्राहीलाई मात्र कर्मचारीहरुले सेवा दिनुपर्छ भन्ने जस्ता दम्भ कतिपय पालिकाका सिँहदरबार हाँक्नेहरुमा पाइन्छ । त्यो गलत छ । जो अगुवा हो, उसले विद्यमान लोकतान्त्रिक राज्य व्यवस्था अनुसारको उच्चत्तम आचरण प्रस्तुत गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्