
ऋण नतिर्ने व्यवसायीप्रति अनुदार बनेर कारबाही गर्नुपर्छ
जसले केही व्यवसाय गरेर आर्थिक उपार्जन गर्न खोजेको छ, जसले स्वरोजगार गरेर आत्मनिर्भर बन्न खोजेको छ, जसले स्वरोजगार गर्दै सानोठूलो रोजगारी सिर्जना गर्न खोजेको छ, जसले उत्पादनमुलक काम गरेर आफ्नो र साथसाथै आफ्नो क्षेत्र अनि मुलुककै अर्थतन्त्रमा टेवा पु¥याउन खोजेको छ, उसलाई सबैले, सबै ठाउँबाट होस्टेमा हैसे गर्नुपर्दछ । त्यस्ता व्यवसायीलाई प्रोत्साहन गर्न राज्यले कञ्जुस्याईँ गर्नुहुदैन । खुलेर साथ, सहयोग र समर्थन गर्नुपर्दछ ।
तर समाजमा सबै एकैनासका मान्छे हुदैनन् । कतिपय व्यक्तिहरु यस्ता हुन्छन्, जो व्यवसाय गरेझैँ गर्ने तर प्राथमिकताचाहिँ व्यवसाय भन्दा अनुदान वा सहुलित दरको कर्जा लिनतिर दिने पनि हुन्छन् । उनीहरु राज्यबाट प्राप्त अनुदान वा सहुलियत दरको व्याजको कर्जा अन्यत्र लगानी गर्ने वा फजुल खर्च गरी सिध्याउने गर्छन् । त्यस्ता तथाकथित व्यवसायीहरु न कर्जा तिर्छन्, न व्यवसायलाई सफल पार्नतिर लाग्छन् । त्यस्ता कथित व्यवसायीप्रति राज्य अनुदार भएर कारबाही गर्नुपर्दछ ।
त्यस्ता प्रवृत्ति भएका व्यक्ति सानो ठाउँमा पनि हुन्छन्, ठूलो ठाउँमा पनि हुन्छन् । सानो ठाउँमा हजार कर्जा लिएर नतिर्ने हुन्छन्, ठूलो ठाउँमा लाख, करोड, अर्ब ऋण लिएर नतिर्ने पनि हुन्छन् । वैँक डुबाउने, राज्य डुबाउने उनीहरु नै हुन् । यस्तो प्रवृत्तिलाई प्रोत्साहित गर्ने होइन, निरुत्साहित गर्नुपर्दछ । लिएको कर्जा नतिर्ने निर्लज्जहरुबाट हरतरहबाट असुल उपर गर्नुपर्दछ । माफी दिने परम्परा बसालियो भने यस्ता दृष्ट्याइँ गर्नेहरुको संख्या बढ्दछ ।
पालुङटार नगरपालिका पनि यस्तै प्रवृत्तिको सिकार भएको छ । सो नगरपालिकाले स्वरोजगार गर्न चाहनेलाई सहुलित व्याजदरमा कर्जा प्रदान गरेको थियो । तर कर्जा लगेको पाँच बर्ष भइसक्यो, फिर्ता दिने छाँटकाटै छैन । अब उनीहरुलाई कुनै पनि हकमा कर्जा मिनाहा गर्नु हुदैन । बरु कारबाहीको दायरामा ल्याउन डगमगाउनु हुदैन ।




