
फुटबलले युवालाई रचनात्मक बाटो हिँडाओस्
गोरखामा हालसालै मिस्टर बी आठौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि आयोजक हरमटारी क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० गोल अन्तरले हराउँदै हरमटारी क्लबले उपाधि जितेको हो । उपाधि बिजेता हरमटारीले रनिङ कपको साथमा तीन लाख ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाएको छ ।
उपाधी उपबिजेता बनेको चाइनिजधारा क्लबले भने १ लाख ६६ हजार ६६६ रुपैया नगद पुरस्कार पाएको छ । गोरखामा जिल्ला फुटबल संघ पनि छ । जिल्ला खेलकुद विकास समिति पनि छ । यद्यपि हरमटारी क्लव र द ओसन क्लवले विशेषगरी फुटबल प्रतियोगिताहरु गरिरहन्छन् । आँबुखैरेनीस्थित अलस्टर क्लवले पनि फुटबल प्रतियोगिता आयोजना गरिरहन्छ । यस खालका प्रतियोगिताले आम जनमानसमा फुटबलप्रतिको रौनक बढाउने गर्छ । बालबालिका, किशोर, युवाहरुमा फुटबलप्रति आकर्षित गर्नेगर्छ । मोबाइल, ल्यापटपमा मात्र रमाउने नयाँ युवा पुस्तालाई यस्ता प्रतियोगिताले खेलकुदप्रतिको लगाव, झुकाव बढाउने विश्वास लिन सकिन्छ ।
मोबाइल र ल्यापटपमा मात्र रमाउँदा समूहबाट अलग्गै रहने, एकान्तप्रेमी बनाउँछ । सामाजिकिकरण हुनबाट बिमुख गराउँछ । खेलकुदले भने सामाजिकीकरण हुन सिकाउँछ । समाज, समुदायप्रति उन्मुख गराउँछ । त्यति मात्र होइन, खेलकुदमा समय व्यतित गर्दा युवाहरु दुव्र्यशनीमा लाग्न पाउँदैनन् । सँधै खेलकुद प्रतियोगितातिर तल्लीन हुँदा उनीहरु लागुऔषध सेवन, ओसारपसार गर्न भ्याउँदैनन् अर्थात उनीहरुलाई त्यतातर्फ लाग्न नैतिकताले पनि दिँदैन ।
समय दुरुपयोग गर्न सक्ने, दुव्र्यशनीमा लाग्न सक्ने समयमा यसरी खेलकुदमा तल्लीन हुँदा युवा पुस्ता नै सदाचारयुक्त बन्ने विश्वास लिन सकिन्छ । त्यसैले खेलकुदका कार्यक्रम आयोजना गर्नेहरु, खेलकुदका गतिविधि सञ्चालन गर्नेहरु धन्यवादका पात्र हुन् ।




