
लालपूर्जा वितरणको कामले तिब्रता पाओस्
भूमि आयोग र धार्चे गाउँपालिकाले सो गाउँपालिका १ हुल्चुकको दलित बस्तीका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको अन्तिम तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गोरखा तथा पालिकाको प्राविधिक टोलीले त्यहाँका भूमिहीन दलित बस्तीको स्थलगत अध्ययन पनि गरेको छ ।
त्यहाँका १३ घर दलित समुदायलाई यथासीघ्र लालपूर्जा वितरण गरिनेछ । त्यहाँका दलित परिबार पुस्तौँदेखि लालपूर्जाबिहिन अबस्थामा थिए । उनीहरु गाउँको एउटा छेउमा घर बनाएर बसेका छन्, तर सो समुदायका कसैको घरको पनि लालपूर्जा छैन । सबै घर परिबार आरान व्यवसायमा रहेकाले उनीहरुले गरिखाने जग्गा जमिन पनि छैन ।
वडा कार्यालय, पालिका कार्यालयको समन्वयमा उनीहरुका लागि हाल बसोबास गरिरहेकै ठाउँको जग्गाको लालपूर्जा दिन लागिएको हो । ती १३ घर परिबारलाई निस्सा भने यसअघि नै वितरण गरिएको थियो । उनीहरुलाई आगामि चैत्र ५ गतेभित्र लालपुर्जा वितरण गर्ने योजनाका साथ काम अघि बढिरहेको छ । उनीहरुलाई सरकारी, ऐलानी र पर्ती जग्गा वितरण गर्ने भूमि आयोगको तयारी रहेको छ । कति जग्गा दिने भन्ने एकिन नभए पनि हुल्चुकमा उपलब्ध जग्गा दामासाही रुपले वितरण गर्ने योजना रहेको छ । समय पनि निश्चित भइसकेकाले त्यहाँका दलित समुदायले अब छिट्टै लालपूर्जा पाउने विश्वास व्यक्त गर्न सकिन्छ ।
हुल्चुकमात्र नभै यस्तो अबस्था अन्यत्र पनि नहोला भन्न सकिन्न । उनीहरुले पनि यथासीघ्र न्याय पाउन् । भूमिहिन(सुकुम्बासी) मात्र नभै धार्चे गाउँपालिकामा अव्यवस्थित बसोबासी पनि छन् । उनीहरुले पनि चाँडै नै लालपूर्जा पाउन् । धार्चेमा मात्र होइन, अव्यवस्थित बसोबासीको समस्या त झन् जहाँतहीँ छ । उनीहरु सबैको समस्या समाधान गर्न सबै पालिकाले चाँडो गृहकार्य पूरा गरोस् । अनि राष्ट्रिय भूमि आयोग गोरखाले उनीहरुका लागि लालपूर्जाको व्यवस्था गरोस् ।




