| सोमवार, कार्तिक २३, २०८३

सम्पदा वस्ती निर्माणमा सहकार्य गरौं

ऐतिहासिक नगरी गोरखाले आफ्नो मौलिकता गुमाउँदै गएको छ । परम्परा र संस्कृतीले पश्चिमेली भाव पछ्याइरहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको असर पर्यटन क्षेत्रमा देखिएको छ । केही बर्ष अघि बजार क्षेत्रमा देखिने पर्यटकको ताती अहिले देख्न मुश्किल छ । बजार क्षेत्र सुनसान बन्दै छ । यसका पछाडी धेरै कारणहरु होलान्, तर बजार क्षेत्रलाई चलायमान बनाउने खालका रणनीतिक योजना बनाउन असफल हुनु पनि एउटा कारण हो ।

पर्यटकीय नगरी गोरखाको समृद्धिको सम्भावना पर्यटन क्षेत्र वाहेक अरु हुनै सक्दैन । तर पर्यटन प्रवद्र्धनका लागी हामीसँग रणनीतिक योजना खोई ? एकता खोई ? पर्यटन प्रवद्र्धनका चर्का भाषण र नारा लगाएर मात्र पर्यटन प्रवद्र्धन हुदैन भन्ने कुरा त पुष्टी भइसक्यो । अव पनि यस्तै नारा र भाषणमा सिमित हुने छुट छैन । रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता खड्किसकेको छ ।

ढिलै भएपनि केही प्रयासहरुको थालनी हुन थालेको छ । गोरखा बजारको ठुलोआँगन क्षेत्रलाई सम्पदा वस्ती बनाउनका लागी पहल शुरु भएको छ । यही बिषयमा केन्द्रित रहेर बिहिबार जिल्लाका सरोकारवालाहरु बीच छलफल समेत भएको छ । सम्पदा वस्ती निर्माणका लागी गोरखा नगरपालिकाले अगुवाई गर्ने प्रतिवद्धता समेत जनाएको छ । सम्पदा वस्तीको रुपमा बिकास भएका केही शहरहरुमा अहिले पर्यटक थेगि नसक्नु छ । गोरखा बजार क्षेत्रलाई सम्पदा वस्तीको रुपमा बिकास गर्न सके पर्यटन प्रवद्र्धनमा इट्टा थप्न सघाउ पुग्नेमा कुनै दुइ मत छैन ।

अव यसमा सबैले हातोमालो गर्दै अघि बढ्नुपर्छ । पर्यटकीय नगरी गोरखाको गुम्दै गएको साख र चहलपलह फिर्ता ल्याउन यो योजना पक्कै फलदायी बन्ने छ । यसलाई सबै जिल्लावासीले अपनत्व लिएर योजना कार्यान्वयनमा सकारात्मक र समन्वयकारी भूमिका निर्वाह गर्नु जरुरी छ । जिल्लाको पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिमा यो योजना कोसे ढुंगा सावित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्