| सोमवार, कार्तिक २३, २०८३

पालिकाहरु उत्कृष्ट बन्ने प्रतिस्पर्धा गरुन्

गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये आरुघाट गाउँपालिकाले सर्बोत्कृष्ट अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सो पालिकाले ४८.९५ अंक प्राप्त गरी सर्वोत्कृष्ट बनेको हो ।

मूल्यांकनमा भीमसेन थापा गाउँपालिकाले ४४.५५ अंक प्राप्त गरेको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले ४३.५४ अंक प्राप्त गरेको छ । सिरानचोक गाउँपालिकाले ४३.४० र अजिरकोट गाउँपालिकाले ४२.९१ अंक प्राप्त गरेको छ ।
त्यस्तै पालुङटार नगरपालिकाले ४०.६० र शहीद लखन गाउँपालिकाले ४०.३७ अंक प्राप्त गरेको छ । गण्डकी गाउँपालिकाले ३८.४५ र चुमनुव्री गाउँपालिकाले ३७.०८ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम धार्चे गाउँपालिकाले २८.११ अंक प्राप्त गरेको छ । दोस्रोकम गोरखा नगरपालिकाले २८.६३ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको हो । असार १० गतेभित्र बजेट पेश र असार मसान्तभित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे, नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे, नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे, नगरेको जस्ता सूचकहरुका आधारमा मूल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे, नगरेको, सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर, टिकाउ दर, कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका थिए ।
यसबर्ष आरुघाटको कार्य सम्पादन उत्कृष्ठ भयो । अब आउँदा दिनमा सबै पालिकाहरुले प्रथम हुने होड गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्