| सोमवार, कार्तिक २३, २०८३

विश्वेश्वर महादेव कि, भालेश्वर महादेव ?

किंवदन्तीअनुसार सोह्रौँ सताव्दीमा भारतबाट त्रिकालदर्शी एक महन्थ गोरखनाथका दर्शन गर्न र तिव्वतका विभिन्न धार्मिक स्थलको भ्रमण गर्न गोरखाको बाटो हुँदै आए । फर्कने बेला ठूलो परिणाममा सुन लिएर आए । सोही सुन खर्चेर त्यहाँ विश्वेश्वर महादेव मन्दिर निर्माण गरे । नजिकै इनार निर्माण गरे ।यसरी निर्माण भएको विश्वेश्वर महादेव मन्दिर अहिलेसम्म पनि पालुङ्टार १० लाजिकोटमा छ । यसको पुरातात्विक महत्व मनन गरी पुरातत्व विभागले मन्दिर पुनर्निर्माण गरेको छ ।

जुनसुकै परातात्विक संरचनाको पुनर्निर्माण गर्दा पुरातात्विक महत्व, पुरातात्विक संरचना, मौलिकतामा कत्ति पनि आँच नआउने गरी गर्दछ भन्ने विश्वास छ । अरु निकायले पुनर्निर्माण गर्दा पनि पुरातत्व विभागले प्राचीन स्वरुप, मौलिकतामा आँच आउन दिँदैन भन्ने सुनिन्थ्यो । तर यो विश्वेश्वर महादेव मन्दिर पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । पुरातत्व विभागले नै पुनर्निर्माण गर्दा यसको प्राचीनता मेटिन्छ भन्ने कसैले कल्पनै गरेनन् । तर दुखका साथ भन्नुपर्दछ कि, मन्दिरको बुट्टावाल टुँडाल गायब भयो । शिव मन्दिरको छानामा कुखुराको भाले आकार अंकित झिँगटी प्रयोग गरिएको छ । हेर्दै आश्चर्य लाग्ने दृश्य ।

पशुपंक्षीको बली नचढ्ने देवताको मन्दिरमा कुखुराको भालेको तस्वीर अंकित झिँगटी राख्नु लज्जास्पद त हुँदै हो, यसले गर्दा भक्तजनको मनमा अनास्था जाग्छ । मन्दिर भनेको आस्थाको धरोहर हो । तर निर्माणका बेला असंवेदनशील बन्दा हजारौँ भक्तजनमा वितृष्ण पैदा हुन्छ । शिव मन्दिरको छानामा भाले नै भाले देखेपछि स्थानीयबासी यो विश्वेश्वर महादेवको मन्दिर हो कि, भालेश्वर महादेवको मन्दिर हो भनेर खिसिट्यूरी गर्न थालेका छन् ।

पुरातत्व विभाग भनेको प्राचीन इतिहासका जानकारहरु, विज्ञहरु, ज्ञाताहरु रहेको थलो हो त्यसैले पुरातत्व विभागले धेरै नै सोचेर पुनर्निर्माण गर्नुपथ्र्यो, गरेन । अझै पनि भालेअंकित झिँगटीलाई हटाएर पुरातत्विक विधिले मान्य सामग्रीको प्रयोग गरी विश्वेश्वर महादेव मन्दिरको पुनस्थापना गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्