
क्वार्ज क्रिस्टल गोरखाको ‘सान’
लामो समयको अलमलपछि बल्ल क्वार्ज कृस्टल कहाँ रहने भन्ने निक्र्यौल भएको छ । केही दिनअघि(गत शुक्रबार)को मन्त्रीस्तरीय बैठकले सो क्वार्ज क्रिस्टललाई गोरखामै राख्ने निर्णय गरी सुरक्षित व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकालाई जिम्मा दिई परिपत्र ग¥यो ।शनिबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको सर्वपक्षीय बैठकले सो क्वार्ज क्रिस्टललाई गोरखा दरबारमा राख्ने निर्णय ग¥यो । यो निर्णयले बिगत आठ महिनादेखि कायम रहेको कहाँ राख्ने भन्ने अन्यौलताको निकास दिएको छ ।
यसका लागि व्यवस्थापन गर्ने जिम्मा गोरखा नगरपालिकाले जिम्मा लिएको छ भने सुरक्षा दिने जिम्मा जिल्ला प्रशासन कार्यालयले लिएको छ । प्रहरीले गोरखा नगरपालिका ७ सतिपिपलकी राममाया शाहीको घरबाछ गत असार महिनामा ५२ किलोग्रामको क्वार्ज क्रिस्टल बरामद गरेको थियो । ५० करोड भन्दा धेरै मूल्य पर्ने अनुमान गरिएको सो क्वार्ज क्रिस्टल एउटा व्यक्तिको घरमा रहँदा जनधन असुरक्षित हुने भन्दै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर सुरक्षा दिइरहेको थियो । सो क्वार्ज क्रिस्टललाई दर्शकले देख्ने गरी कसरी राख्न सकिन्छ भन्ने बारे बहश भइरहेको छ । सुरक्षित तबरले ग्यालरी निर्माण गरी त्यसलाई सर्बसाधारणले पनि दर्शन गर्न मिल्ने गरी दरबार वा मन्दिर आसपास राख्ने विमर्श भएको छ ।
दरबारमा प्रहरी र नेपाली सेनाको २४ घण्टे सुरक्षा व्यवस्था छ । तैपनि करोडौँ मूल्य पर्ने अति महंगो रत्न बाहिरै रहँदा असुरक्षित हुने हो कि भन्ने आशंकमा भने जनमनमा विद्यमान छ । त्यहाँ क्वार्ज क्रिस्टल रहेपछि गोरखकाली देवी, गोरखनाथ बाबाको दर्शन तथा ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्न आएका तीर्थालु भक्तजनले बहुमूल्य क्वार्ज क्रिस्टलको पनि अवलोकन गर्न पाउने भएका छन् । यसले गोरखाको सान बढाउने विश्वास गरिन्छ ।




