| सोमवार, कार्तिक २३, २०८३

कहिलेसम्म चल्छ, खानेपानी आयोजनाको जुवारी

गोरखा बजारका बासिन्दालाई खानेपानी सेवा दिनका लागि बिगत १८ बर्षअघि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भयो । छाङखोला र ढाक्रेखोलाको पानी पम्पिङ गरी गोरखा नगरपालिका ६, ७ र ८ का उपभोक्तलाई वितरण गरियो ।
यी वडाकै टोलटोलमा तीनधारे, पोखराथोक जस्ता आयोजनाहरु पनि सञ्चालन भए । साना सहरी वा अन्य साना योजनाका सेवाप्रति सन्तुष्टि, असन्तुष्टिका आवाजहरु उठान, बैठान भइरहेका थिए । यही अबस्थामा वडा नं. ३, ४, ५, ६, ७ र ८ का साना ठूला २२ वटा योजनाहरुलाई पानी उपलब्ध गराउने गरी दरौँदी लिफ्टिङ वृहत खानेपानी आयोजना सञ्चालन भयो । २०७८ मा निर्माण सम्पन्न भयो भनिएको सो आयोजनाले गोरखा बजारभित्र सञ्चालन भएका ६ वटा योजनालाई पानी वितरण गर्न थालेको छ ।
यो अबस्थामा दरौँदी आयोजना भन्छ, पानी उपभोग गरेका छ वटा साना योजनाले महशुलबापत दिनुपर्ने शुल्क तिरेनन् । कि पानी उपयोग नगर्नु पर्छ, उपयोग गर्ने हो भने महशुल तिर्नुपर्छ भन्ने दरौँदीको तर्क छ । ती समितिले पानी उपभोग गर्ने भनेर ४२ करोड खर्चेर आयोजना सञ्चालन भयो, तर यत्तिका समय भइसक्दा पनि कसैले पनि स्वामित्व लिन चाहेनन्, जसले आयोजना अलपत्र हुने भयो ।
तर अरु उपभोक्ता समितिहरुको भनाइ अनुसार दरौँदी लिफ्टिङले हप्तामा जम्मा एक, दुई पटक मात्र पानी दिन्छ । दिएका बेला पनि पानी निकै सानो परिमाणमा दिन्छ । दरौँदी आयोजना अस्तब्यस्त छ । न मिटर रिडिङ गर्छ, न बिल दिन्छ, के आधारमा पैसा तिर्ने ? झण्डै आधा अर्ब खर्चेर बनेको आयोजना अलपत्र हुनेमा अन्य उपभोक्ता समितिहरुको चिन्ता छ ।
अब खानेपानी बोर्ड गठन भएको छ । बोर्डले यस्ता जुवारीको अन्त्य गरी खानेपानीका समस्या समाधान गर्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्