| सोमवार, कार्तिक २३, २०८३

गण्डकीको किसानमैत्री कार्यक्रम प्रशंसनीय

काम, कार्यशैलीका कारण जनस्तरबाट सरकारको आलोचना, प्रसंसा दुवै आइरहन्छन् । जनस्तरमै पुग्ने सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो, जसलाई नागरिकले आँखै अगाडि देख्न, छाम्न, भोग्न सक्छ । त्यस्तो स्थानीय सरकारका कैयौँ कामहरु जनमन छुने खालका छन् ।

गण्डकी गाउँपालिकाले गरेका केही कामहरु यस्ता छन्, जसले सर्वसाधारण नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । गण्डकी गाउँपालिकाका किसानहरु केही बर्षदेखि व्यवसायिक तरकारी खेतीमा तल्लीन छन् । व्यवसायिक तरकारी खेतीका कारण सो पालिकाका किसानको आर्थिकस्तर पनि माथि उठेको छ । चाहे, त्रिशुली किनारका किसान हुन् वा देवीथान जस्ता डाँडाका शिखर बस्तीका किसानहरु किन नहुन्, निर्वाहमुखी खेती प्रणाली छाडी व्यवसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैले कृषि ज्ञानकेन्द्रले पनि ती क्षेत्रलाई तरकारी ब्लकका रुपमा विकास गरिरहेको छ ।

पालिका सरकारले पनि व्यवसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम लागु गरेको छ । गत असारमा सम्पन्न गाउँसभाबाट पालिकाले किसानलाई अनुदान दिएर तरकारी खेतीमा आकर्षित गर्ने काम गरेको छ । तरकारी खेती गरेर सहकारीलाई बिक्री गरेपछि गाउँपालिकाले किसानलाई प्रतिकिलो दुई रुपैयाँका दरले अनुदान दिने कार्यक्रम लागु गरेको छ ।
वितरणमुखी कार्यक्रम राम्रो त होइन, तर यो वितरणको प्रकृति फरक खालको छ, जसले उत्पादनमा वृद्धि गर्छ ।

उत्पादन वृद्धि मात्र गर्दैन, किसानहरुलाई स्वरोजगार बनाउँछ, अन्यलाई पनि रोजगारी सिर्जना गर्दछ । पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउँदै तरकारी आयात सुन्य बनाउँछ । तरकारी बिक्रीबाट स्थानीयबासीमा आर्थिक संवृद्धि ल्याउँछ । आर्थिक वृद्धिले शिक्षा, स्वास्थ्य, चेतनामा स्वतः वृद्धि गर्छ । त्यसैले किसानलाई उत्पादनमा आकर्षण गर्ने गण्डकी गाउँपालिकाको कार्य निकै प्रशंसनीय छ ।

प्रतिक्रिया दिनुहोस्