| सोमवार, कार्तिक २३, २०८३

अब समाधान होला त गोरखा बजारको खानेपानी समस्या

गोरखा नगर क्षेत्रभित्रको खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि भन्दै नगरपालिकाले खानेपानी बोर्ड गठन गरेको छ । नगरप्रमुख अध्यक्ष रहने गरी खानेपानी बोर्ड गठन भएको हो । बोर्डमा उपप्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाले तोकेको तीन जना वडाध्यक्ष, खानेपानी तथा सरसफाई क्षेत्रमा कार्य गरेका व्यक्ति, जग्गादाता, उपभोक्ताहरु मध्येबाट नगर प्रमुखले मनोनित गरेको एकजना महिलासहित दुई जना सदस्य रहेका छन् ।

पालिकाको गत असारमा सम्पन्न नगर अधिवेशनले ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ स्वीकृत गरेको थियो । ऐनले तोकेको कार्यसम्पादनका लागि बोर्ड गठन गर्नुपर्ने भएपनि राजनीतिक भगवण्डा नमिल्दा विगत सात महिनादेखि हुन सकेको थिएन । अन्ततः आइतवारको कार्यपालिका बैठकले सदस्यहरुको टुंगो लगाउदै सबैको सहमतिमा बोर्ड गठन गरेको छ ।
नौ सदस्यमध्ये पाँच जना कांग्रेस र बाँकी माओवादीको रहेका छन् ।

सबै वडा, सबै टोलहरुमा विभिन्न खानेपानी तथा सरसफाइ योजनाहरु छन् । ती खानेपानी तथा सरसफाइ योजनाहरु मनमौजी सञ्चालित छन् । पानीको महशुल मनोमानी छ, धारा जोड्ने शुल्क, धारा वितरणमा सिण्डिकेट लगायतका धेरै समस्या विद्यमान छन् ।

गोरखा नगरपालिका १, २, ३, ४, ५, ६ ७ र ८ का केही टोलहरुमा सेवा दिने गरी दरौँदी वृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएको छ । विभिन्न २२ वटा खानेपानी योजनाहरुलाई पानी उपलब्ध गराउने गरी राज्यको ढुकुटीबाट करिब ३८ करोड खर्च गरेर सो आयोजना निर्माण भएको हो ।

तर, दुखद कुरा यो छ कि, करोडौँ खर्च गरेर बनेको सो आयोजनाको पानी उपभोक्ताले पाउन सकेका छैनन् । केही समयदेखि साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले थोरै मात्रामा पानी लिएको छ, तर त्यसबापतको शुल्क तिरेको छैन ।
यस्तो समस्या पनि अब खानेपानी बोर्डले समाधान गर्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्