| सोमवार, कार्तिक २३, २०८३

दलित महिला सदस्यको काम प्रसंसनीय

ठूलो काम गर्न ठूलो कुल, खानदानमा जन्मेको, सहरी वातावरणमा हुर्केको, हाइफाइ गर्न सक्ने, हाँकोडाँको ठूलो भएको, सुकिलोमुकिलो हुनुपर्छ भन्ने छैन । सामान्य परिबारका, सामान्य वातावरणमा जीवन गुजारिरहेका व्यक्तिले पनि ठूलो मन गरेर सिर्जनात्मक काम गर्न सक्छन्, महान बिचार राख्न सक्छन्, समाजको हित हुने काम गर्न सक्छन् भन्ने कुरा सहिद लखन ८ की दलित महिला सदस्य पार्वती सार्कीले प्रमाणित गरेकी छिन् ।

उनले वडा सदस्य भएबापत पाउने तलब, भत्ता संगालेर ५३ हजार रुपैयाँ पु¥याइन् र गाउँमा अत्यन्तै खाँचो परेको सामग्री जुटाइन् अनि गाउँकै दलित महिला समूहलाई हस्तान्तरण गरिन् । ५३ हजार रुपैयाँ संगाल्न उनलाई धेरै महिना लाग्यो । जसोतसो संगालेपछि उनले गाउँमा भोजभतेर गर्दा आवश्यक पर्ने भाँडाकुँडा खरिद गरिन् र दलित महिला समूहलाई हस्तान्तरण गरिन् ।

शनिबारदेखि उनी आवद्ध नेपाली कांग्रेस पार्टीले समुदायमा कांग्रेस भन्ने अभियान सञ्चालन गरेको थियो । सोही अवसर पारेर गाउँमा कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने लगायतका टिम पुगेका पनि थिए । त्यही अवसरमा उनले दलित महिला समूहकी अध्यक्ष मिठु परियारलाई उनले सो भाँडाकुँडा हस्तान्तरण गरेकी हुन् ।

५३ हजार धेरै ठूलो कुरा होइन । तर कुरा ५३ हजारको मात्र होइन, कुरा दिलको हो । गाउँका दाजुभाइ, दिदीबहिनीलाई खाँचो परेका कुरा दिल खोलेर सहयोग गर्न सक्नु ठूलो कुरा हो । न उनी करोडपति हुन, न लखपति, तैपनि सरकारबाट प्राप्त ५३ हजार रुपैयाँको ठूलो सदुपयोग गरिन् । न उनलाई फोटो खिचाएर भाइरल बन्नु थियो, न उनलाई मिडियाबाजी गरेर हाइहाइ बन्नु थियो, थियो त केवल जनप्रतिनिधि भएबापत आफूले पाएको नगदबाट आफ्नै गाउँटोलका बासिन्दालाई सहयोग गर्ने मन । त्यसैले उनको यस कार्य निकै प्रसंशनीय छ, उदाहरणीय छ ।

प्रतिक्रिया दिनुहोस्