| सोमवार, कार्तिक २३, २०८३

उष्णप्रदेशीय रोगहरुलाई उपेक्षा नगरौ

मंगलवार बिश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालयले एक तथ्याङ्क सार्वजनिक ग¥यो । तथ्याङ्कले गर्मी भू–भागमा हुने उष्णप्रदेशीय रोगको संक्रमण दर जिल्लामा पनि बढ्दै गएको देखायो ।

प्राय तराई क्षेत्रमा पाइने डेंगु, कालाजार, सर्पदंश, कुष्ठरोग, रेबिज लगायतका रोगको संक्रमण अव पहाड र हिमालतिर पनि उकालो लागिसकेको छ । उपेक्षित गरिएको यी रोगहरुलाई अझै वेवास्ता गर्दै जाने हो भने यस्ता रोगहरुले महामारीको रुप लिन नसक्ला भन्न सकिन्न । बेलैमा सजग र सावधानी अपनाउनु जरुरी छ ।

स्वास्थ्य कार्यालयकै तथ्याङ्कलाई आधार मान्ने हो भने गत बर्षमात्रै जिल्लामा ५ सय ३१ जनामा डेंगु देखियो । यो बर्ष छ महिनाको अन्तरालमा डेंगु संक्रमितको संख्या ४ सय ८ पुगिसक्यो । हाल जिल्लामा १३ जना कुष्ठरोगका बिरामी उपचाररत छन् । त्यस्तै कालाजार पनि अव जिल्लाका लागी नौलो रोग भएन । यसरी दिन प्रतिदिन उष्णप्रदेशीय रोगहरुको संक्रमण दर जिल्लामा बढ्दै जानुले स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिइरहेको छ ।

नयाँ प्रविधिको बिकासले विश्व जगतलाई साघुँरो बनाइदिएको छ । बढ्दो शहरीकरणले निम्त्याएको जलवायु परिवर्तनको प्रभावले पनि नयाँ रोगका संक्रमणको जोखिम बढ्दो छ । अव रोगहरुले भूगोल नभन्ने भयो । जुन क्षेत्रमा जुनसुकै रोगको संक्रमण हुनसक्ने खतरा बढ्दै गएको छ । उदाहरणकै रुपमा उष्णप्रदेशीय रोगहरुलाई लिन सकिन्छ जुन पहाडी क्षेत्रमा पनि देखा परिसक्यो । तर यही रोगहरु उपेक्षित छन् ।

यस्ता रोगहरुलाई उपेक्षा गर्नु मुर्खता हो । रोकथामका लागी सम्बन्धित निकायले बिशेष योजना र रणनीति तयार गर्नुपर्छ । यस्ता रोग लाग्न नदिन बिशेष सावधानी अपनाउनु पर्ने एकातिर छ भने अर्कातिर संक्रमित भएमा उपचारमा सहुलियतको व्यवस्था गर्नुपनि उत्तिकै आवश्यक छ । यी रोगहरु सम्बन्धी ग्रामिण भेगसम्म जनचेतना अभिवृद्धि गर्नुपर्ने पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्