
६–६ महिनामा बिग्रिरहने सिसिटिभी कागजी बाघ मात्रै
केही समयअघिसम्म सहरका उच्च कुलीन परिबारको महलको प्रवेशद्वारमा ‘कुकुरदेखि सावधान’ भनेर ठूलो अक्षरमा लेखिएको हुन्थ्यो । घरभित्र कुकुर भए पनि नभए पनि सो पंक्ती लेखेपछि अवाञ्छित कार्य गर्ने नियतले भित्र पस्न डराउँथे भन्ने विश्वास थियो ।
परिवर्तित समयसंगै अचेल यसमा पनि रुपान्तर भएको छ । अचेल विशेष, विशेष ठाउँमा ठूलो अक्षरमा ‘तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भनेर लेख्ने गरेको पाइन्छ । त्यति लेखेपछि कसैले पनि अवाञ्छित गतिविधि गर्न हिम्मत गर्दैनन् भन्ने विश्वास गरिन्छ । यद्यपि पूर्व अर्थमन्त्री जनार्दन शर्माले सिसी टिभी फुटेज गायब बनाएको घटना सार्वजनिक भएको थियो ।
बजारको सुरक्षा व्यवस्था सुदृढ हुने भन्दै प्रहरीको अनुरोधमा एवं गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सेवाकेन्द्रले केही बर्षअघि गोरखा बजारको विभिन्न महत्वपूर्ण ठाउँमा सिसी क्यामरा तथा सिसि टिभीको अबस्था गरेको थियो । केही समय सकुशल सञ्चालन भए पनि ती क्यामरा तथा अन्य प्रविधिले थोरै समयमै धोका दिन सुरु ग¥यो ।
गुणस्तरहीन उपकरण खरिद भएको तथा जडान कार्य पनि कमसल भएका कारण थोरैथोरै समयमा सिसिक्यामेराले दुख दिइरहेको प्रहरीको अनुमान छ ।
लामो समय काम बिहिन भएको सिसी क्यामेरा गोरखा नगरपालिकाको पाँचलाख आर्थिक सहयोगमा गत साउन महिनामा मर्मत सम्भार गरिएको थियो । तर मर्मतसम्भार पनि कमसल भएका कारण अहिले छ महिना नबित्दै फेरि काम गर्न छोड्यो । हालसालै फेरि गोरखा नगरपालिकाको पाँचलाख रुपैयाँ आर्थिक सहयोगमा सिसी क्यामेरा मर्मत सम्भार गरिएको छ ।
छ–छ महिनामा यसरी पाँच–पाँच लाख रुपैयाँ खर्च गर्दै मर्मतसम्भार गर्नुपर्ने यहाँ उपकरण कस्तो प्रयोग भएको छ ? सबैको मनमा उब्जिने सवाल बनेको छ ।




