| सोमवार, कार्तिक २३, २०८३

कालु पाँडेको दरबार पुनर्निर्माण इतिहासप्रति सम्मान

कालु पाँडे नेपाल एकीकरण अभियानमा बिर्सनै नहुने नाम हो । उनी गोरखाको खोप्लाङ, भुसुण्डीका हुन् । उनी द्रव्य शाहलाई लिगलिगकोटबाट गोरखाका राजा बनाउन अगुवाइ गर्ने गणेश पाँडेका सन्तति पनि हुन् । पृथ्वीनारायण शाहको दाहिने हातका रुपमा राज्य एकीकरण अभियानमा अग्रणी भूमिका खेलेबापत उनी प्रधान सेनापति पनि भएका थिए । तर बिसं. १८१४ मा कीर्तिपुरसंगको दोस्रो पटकको युद्धमा उनले सहादत प्राप्त गरे ।

उनको योगदानको सम्मान र कदर गर्दै पुरातत्व विभागले उनी जन्मेको ठाउँमा भुसुण्डीमा उनको जन्मघर(दरबार) निर्माण गरेको छ । करिब दुई करोडको लागतमा दुई तले भवन निर्माण गरेको हो । तीनबर्ष अघिदेखि निर्माण आरम्भ गरिएको सो भवन यस बर्ष सम्पन्न हुदैछ । अब भवनमा छाना लगाउने काम मात्र बाँकी छ । बजेट अभावले छानामा लगाउने झिँगटी खरिद गर्न कठिनाइ भएको बताइएको छ । राज्य एकीकरणका बेलाका प्रधान सेनापतिको जन्मघर निर्माण भएपछि त्यसलाई युद्ध संग्रहालयका रुपमा विकास गर्ने आफन्तजनहरुको लक्ष्य छ । त्यसका लागि उनले लड्दा प्रयोग गरेका हतियारहरुको संकलन कार्य भइरहेको छ । साथै सोही दरबार परिसरमा कालु पाँडेका अर्धकदको सालिक, कालु पाँडे धारा निर्माण गरिएको छ । मुल गेट, तारबार जस्ता संरचना पनि बनिसकेका छन् ।

देशका लागि ज्यू ज्यान दिने उनको स्मरण चीर कालसम्म कायम राख्ने उद्देश्यले सरकारले उनको दरबार निर्माण गरेको हो ।
इतिहासको सम्मान गर्नेको भविष्यमा सम्मान हुने प्राकृतिक नियम हो । जसले इतिहास मार्छ, उसलाई उसका भावी पुस्ताले पनि मार्छन् । त्यसैले कालु पाँडे दरबार पुनर्निर्माणको कार्य अति प्रसंसनीय छ । यस्तै इतिहास जगेर्ना गर्ने, त्यसको प्रचार प्रसार गर्ने काम पनि गर्दै संरक्षण गर्ने काम पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्