
हाट बजारलाई चलायमान बनाउ
हाट बजारलाई ग्रामिण क्षेत्र बजारको एक स्वरुप मानिन्छ । हाट बजार संचालनले स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनलाई मात्र होइन बिचौलियाको हावी न्यूनिकरण गर्दै उपभोक्ता र किसानबीचको दुरी कम गराउछ । सोही उदेश्यका साथ शहिद लखन गाउँपालिकाले २०७५ सालदेखि रामशाह बजारमा हरेक शनिवार हाट बजार संचालन गरेपनि कोभिड यता बन्द जस्तै छ ।
स्थानीय कृषि सहकारीसँग समन्वय गरेर पालिकाले सो हाट बजार संचालनमा ल्याएको हो । भौतिक संरचना निर्माणकै लागी संघ, प्रदेश र पालिकाबाट करिव ६५ लाख खर्च भइसकेको छ । कोभिडले करिव डेढ बर्ष संचालन हुन नसकेको सो हाट बजार अहिले पुरानो स्वरुपमा फर्कन सकेन । उत्पादित कृषि उपज लिएर आउने किसानहरुको संख्या मात्र होइन ग्राहकको संख्या पनि स्वतः घट्दै गयो । हाट बजारले त्यसयता निरन्तरता समेत पाउन नसक्नु अर्काे समस्या हो ।
हाट बजार संचालनकै लागी भनेर पालिकाले बर्षेनी रकम विनियोजन गर्ने गर्छ । हाट बजारसम्म बिक्रीका लागी ल्याउने कृषि उपजका लागी किसानलाई ढुवानी खर्च समेत व्यवस्था गर्दै आएको छ । अनेकौ प्रयासका बावजुद पनि हाट बजार किन चलायनमान हुन सकेन ? यो सोचनिय बिषय हो ।
पालिकाको समन्वय र हाट बजार संचालक समितिको संक्रियतामा देखिएको कमी एउटा कारण हो । उत्पादनको समयमा हाट बजार नलाग्नुले पनि हाट बजारप्रति किसानहरुको मोह घट्दै गएको तितो यथार्थलाई स्वीकार गर्नुपर्छ । हाट बजारसम्म पुगेका कृषि उपजहरु बिक्री नभएको खण्डमा भण्डारण गरेर राख्ने ठाउँको अभाव छ । उत्पादन ढुवानीमै किसानले सास्ती खेप्नुपर्छ । कोल्ड स्टोर निर्माण गरेर बिक्री नभएका उपजहरु त्यही भण्डारण गर्न सके उत्पादन लिएर आउन किसानहरु हौसिनेमा दुई मत छैन । नियमित हाट बजार संचालन हुनु पनि उत्तिकै आवश्यक छ । केही स्थायी संरचना बनाएर दैनिक रुपमा तरकारी, माछामासु, दुधजन्य पदार्थ लगायतका पसल संचालन गर्न सकेको खण्डमा शनिवार लाग्ने हाट बजार पनि चलायमान हुने थियो की ! यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।




