
आगलागीबाट बच्न सावधानी अपनाऔ
गत शनिवार राती उत्तरी गोरखाको छेकम्पारस्थित एक होटलमा आगजनी भयो । आगजनीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गत कात्तिक १२ गते बिद्युत सर्ट भएर आगलागी हुदाँ बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका डिल बहादुर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
यी प्रतिनिधिमूलक घटना मात्र हुन् । आगलागीका यस्ता धेरै घटनाहरु जिल्लाले बोहो¥र्दै आएको छ । यस्ता घटना प्राकृतिक प्रकोप नभइ मानविय लापरवाहीकै कारण हुने गर्दछ । सावधानी अपनाउन सके यस्ता घटनाहरु पटक पटक दोहोरिदैनन् ।
दैनिक जीवनमा हामी आगोसँगको संसर्गमा हुन्छौ । आदिमकालदेखि नै आगो मानिसको जीवनको सहायक हुँदै आएको कुरालाई नकार्न सकिदैन । मानवीय जीवनलाई सुगम बनाउने आगोको उचित व्यवस्थापन गर्न सकिएन भने बिध्वंशको कारण बन्न पुग्छ । जिल्लामा आगलागीका घटनाहरु भइरहेकै छन् ।
यसले जनधनमा क्षति पनि पु¥याइरहेको छ । आगलागी जोखिम कम गर्ने एवं आगो निभाउने उपकरण र जनशक्ति अभाव अर्को समस्या हो । जाडोयाममा आगो ताप्ने क्रममा होस् वा खाना पकाउने क्रममा आगलागीका घटनाले स्थान पाइरहेकै छ ।
आगजनीका घटना न्यूनिकरण गर्न बिशेष सावधानीहरु अपनाउनुपर्छ । डिजेल, पेट्रोल, मट्टितेल जस्ता प्रज्वलनशिल पदार्थहरु आगो नजिक नराख्नु उचित हुन्छ । खरको छाना भन्दा जस्तापाताको छाना प्रयोग गर्न सके आगलागीको जोखिम घटाउछ ।
गाउँ टोल नजिकै पोखरीहरु निर्माण गर्न सके आगलागीको समयमा आगो निभाउन सहज हुन्छ । सकिन्छ भने पोखरीको बिकल्पमा नयाँ प्रविधि पनि अपनाउन सकिन्छ । राती सुत्ने बेला भान्साको आगो राम्रोसँग निभाएर मात्र सुत्नु बुद्धिमता हुन्छ । लाइटर र सलाइ जस्ता चीज बालबालिकाको पहुँचभन्दा टाढै राख्नुपर्छ । यस्ता सावधानी अपनाउन सके आगलागीका घटनाहरु न्यूनिकरण हुने थियो की !




