| सोमवार, कार्तिक २३, २०८३

घैरुङमा फुटबल, गोरुजुधाइ र कफी प्रदर्शनी

माघे सक्रान्ति पर्वको अवसरमा गोरखाको घैरुङमा फुटबल, गोरुजुधाइ र कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । हिमालय युवा क्लवद्वारा सहिद लखन गाउँपालिका ६ पिपलछापस्थित खेलमैदानमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
क्लवका अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, विशेष अतिथि गाउँपालिकाका प्रमुख रमेशबाबु थापा मगरलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा आयोजित दशौं हिमालय देवी कप पुरुष फुटबल प्रतियोगितामा रोइला डटकम फिस्लिङ प्रथम, बतासे समाज घैरुङ द्वितीय भएका छन् । प्रथम हुनेले एकलाख ३० हजार नगद, मेडल र प्रमाणपत्र पाएका थिए भने द्वितीय हुनेले ६५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै दौड प्रतियोगितामा रञ्जित श्रेष्ठ प्रथम, प्रदीप रोका द्वितीय र आशिक श्रेष्ठ तृतीय भएका छन् ।

त्यस्तै डोको, चकटी, खुर्पेटो लगायतका हस्तकला प्रतियोगिता पनि सम्पन्न भएको थियो । सहिद लखन गाउँपालिका कृषि तथा पशु शाखाबाट कृषि तथा पशु प्रदर्शनी भएको थियो । त्यस्तै माया प्रेम प्रतिष्ठानबाट कफी प्रदर्शनी भएको थियो ।
सो अवसरमा कफी खेती गर्ने तथा कफी प्रशोधन गर्ने विधिका बारेमा किसानहरुलाई अभिमुखीकरण गरिएको थियो ।
माया प्रेम स्मृति प्रतिष्ठानको संयोजनमा सम्पन्न कफी प्रदर्शनीमा तीनघरेकी मुना थापा मगरको कफी प्रथम हुन सफल भएको छ ।

त्यस्तै दार्चेका नारायणप्रसाद रेग्मी द्वितीय, बक्राङका इन्द्रबहादुर थापाको कफी तृतीय र बुंकोटका अमृत श्रेष्ठको कफीले सान्त्वना पुरस्कार प्राप्त गरेको माया प्रेम स्मृति प्रतिष्ठानका उपाध्यक्ष खुनप्रसाद रेग्मीले जानकारी दिए ।
त्यस्तै गोरु जुधाइ प्रतियोगितामा १२ हल गोरु जुधाइएको थियो । जसमध्य ए ग्रेड(ठूला गोरु)हरु चार हल थिए भने बी ग्रेड(मझौला गोरु) ५ हल जुधाइएका थिए ।

प्रथम हुने ए ग्रेडका गोरुका धनीले १५ हजार नगद पुरस्कार पाएका थिए भने द्वितीय हुने गोरुका धनीले १० हजार नगद पुरस्कार पाएका थिए । त्यस्तै बी ग्रेडका प्रथम हुने गोरका धनीले आठ हजार र द्वितीय हुने गोरुका धनीले चार हजार नगद पुरस्का पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्