| सोमवार, कार्तिक २३, २०८३

गोरखा फर्क अभियानले गोरखाको मुहार फेर्न सकोस्

प्रहरी सेवामा लामो समय काम गरे पछि गोरखा बजारका डाक्टर राजुबाबु श्रेष्ठ केही बर्षअघि सेवाबाट निवृत्त भए । त्यसयता आफ्नो नगरको विकासका लागि दिलोज्यान दिएर लागिपरेका छन् । जागिरे जीवनभरि आफ्नो जन्मथलोको सेवा गर्न समय नपाए पनि सेवा निवृत्त भएपछिको उनको अधिकांश समय गोरखा बजारको मुहार फेर्ने काममा बितेको छ ।

उनी अहिले रविन्द्र पुरी फाउण्डेशनमार्फत गोरखा बजारको मुहार फेर्ने अभियानमा छन् । गोरखा बजार ऐतिहासिक स्थल भएकाले यस बजारलाई आधुनिक भन्दा ऐतिहासिकता सुहाउँछ भन्ने निश्कर्षसहित उनी रविन्द्र पुरी फाउण्डेशनसंग मिलेर यस बजारलाई ऐतहासिक स्वरुप झल्किने गरी पुनर्निर्माण गर्ने कार्यमा दिनरात खटिइरहेका छन् । ऐतिहासिक सहर बनाएर गोरखा बजारलाई विश्व सम्पदा सूचीमा दर्ज गर्ने अथवा सम्पदा बस्ती बनाउने सपना पूरा गर्ने ध्याउन्नमा उनी छन् ।

उनी एक्लैले यो सब सम्भव छैन, तसर्थ उनीले तन, मन, धनले गोरखा बजारको मुहार उज्यालो भएको हेर्न चाहने साथी संगत जुटाउँदैछन् । उनले अहिले गोरखा फर्क अभियान सञ्चालन गर्दैछन् । सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियानमा आजकै मितिसम्म ६० जना जोडिसकेका छन् । धार्मिक तथा ऐतिहासिक सहरलाई धार्मिक तथा ऐतिहासिक झल्को आउने खालको बनाउने उनको टिमको योजना छ ।

पेशा, व्यवसाय, रोजगारी, स्वरोजगारीका क्रममा गोरखा बजार घर भएर हाल देश विदेशमा रहेर काम गरिरहेकाहरु यो अभियानमा जोडिएपछि उनीहरु बर्षमा कम्तिमा पनि दुई फेर गोरखा आउनु पर्ने, गोरखा बजारको आफ्नो जन्मघरलाई स्तरोन्नति गर्ने, यहाँको हरेक गतिविधिमा जोडिएर भावी पिँडीलाई पनि गोरखासंग जोड्न पहल गर्ने सो अभियानको लक्ष्य हो । यो अभियानले गोरखाको मुहार फेर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्